सुर्खेत
१२-मंसिर/ कर्णाली प्रदेशमा बाढी, पहिरो, र चट्याङलगायतका बहुप्रकोप न्यूनीकरणका लागि मङ्गलबार वीरेन्द्रनगरमा प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख शङ्करहरि आचार्यले विपद् जोखिम न्यूनीकरण ऐन, २०७४ अनुसार काम गर्न र आपतकालीन केन्द्रलाई स्रोत साधन सम्पन्न बनाउनु पर्नेमा जोड दिए। बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले जोखिमयुक्त बस्तीको दीर्घकालीन व्यवस्थापन र साइरन जडानको आवश्यकता औंल्याए।
सहभागीले नदी किनारका बस्ती व्यवस्थापन, सडक पूर्वाधारमा ध्यान, र जथाभावी डोजर प्रयोग रोक्नुपर्ने सुझाव दिए। गोष्ठी आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्राक्टिकल एक्सनको सहकार्यमा आयोजना गरिएको थियो।





