पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

दाङ
२७ पुस/ आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विविध कार्यक्रमसहित मनाइँदै छ। विसं १७७९ मा जन्मिएका शाहको योगदानको स्मरण गर्दै राजधानीदेखि गोरखासम्म विशेष कार्यक्रम आयोजना गरिएको छ।

आधुनिक नेपालको एकीकरण अभियानका नायक शाहप्रति श्रद्धाञ्जली अर्पण गर्न सिंहदरबार पश्चिम ढोकाअगाडिको सालिकमा पुष्पहार चढाइएको छ। नेपाली सेनाले जङ्गी अड्डास्थित पूर्णकदको सालिकमा माल्यार्पण गर्दै सम्मान व्यक्त गरेको छ। जन्मस्थान गोरखामा पनि हरेक वर्षझैँ आज विशेष कार्यक्रम भइरहेको छ।

पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोह आयोजना गरेको छ। सो कार्यक्रममा प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ।

२० वर्षको उमेरमा गद्दी आरोहण गरेका शाहले ५२ वर्षको जीवनकालमा बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्दै आधुनिक नेपालको आधार तयार पारे। आन्तरिक र बाह्य चुनौतीबीच उनले जनताको साथ लिएर राष्ट्र एकीकरण अभियान सफलतापूर्वक अघि बढाए।

उनको योगदानकै कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एक रहन सफल भएको मानिन्छ। ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने उनको दिव्योपदेश आज पनि सुशासन र भ्रष्टाचारविरुद्ध सन्दर्भिक छ। नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ भनेको भनाइले भू–राजनीतिक यथार्थ झल्काउँछ।

यो दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई मजबुत बनाउने सन्देश दिन्छ। युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जगाउन पृथ्वी जयन्तीको विशेष महत्व रहेको छ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गरेका छन्।