तुलसीपुर –११ मा अध्यक्ष कप फुटबल सुरु, त्रिवेणी र डिवाइसीको सानदार जित

लक्ष्मण बस्नेत, तुलसीपुर
२५ पुस/ दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा आजदेखि वडाअध्यक्ष कप फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। अमर माध्यमिक विद्यालय, उरहरीको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन विशेष समारोहबीच सम्पन्न भयो।

वडा सदस्य यज्ञबहादुर बस्नेतको अध्यक्षता, वडाध्यक्ष मानबहादुर रावतको प्रमुख आतिथ्यता तथा दाङ जिल्ला फुटबल संघका उपाध्यक्ष पवनकुमार योगीको विशिष्ट आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष रावतले खेलकुद स्वस्थ जीवनशैली, अनुशासन र सकारात्मक सोच विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताए। ग्रामीणस्तरसम्म खेलकुदको पहुँच विस्तार गर्ने उद्देश्यका साथ आफू निर्वाचित भएयता अध्यक्ष कपमार्फत फुटबल र क्रिकेटलाई निरन्तरता दिइएको उल्लेख गर्दै उनले स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनमा प्रतियोगिता प्रभावकारी बनेको धारणा राखे। खेलकुदले खेलाडीको व्यक्तिगत जीवन मात्र होइन, सामाजिक विकासमा समेत योगदान पुर्‍याउने उनको भनाइ थियो।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा वडाभित्रका ९ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टिमले नगद ३५ हजार रुपैयाँ र उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ को पुरस्कार प्रदान गरिनेछ।

वडा सदस्य प्रभा परियारको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन वडा सचिव पदमकुमार भण्डारीले गरेका थिए।यसैबीच, प्रतियोगिताअन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा त्रिवेणी युवा क्लब कटाहाले बेलटाकुरा बीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। दोस्रो खेलमा डिवाइसी बेलगनारी बीले उरहरी सीलाई २–० गोलले हराउँदै प्रतियोगितामा शानदार प्रवेश गर्‍यो।

प्रतियोगिताअन्तर्गत भोलि शनिबार तीन खेल हुनेछन्। पहिलो खेल बिहान साढे ७ बजे बेलटाकुरा ए र डिवाइसी बेलगनारी एबीच हुनेछ। दोस्रो खेलमा बबई लेजेन्ड्स र मोतीपुर आमनेसामने हुनेछन् भने तेस्रो खेल त्रिवेणी युवा क्लब कटाहा र उरहरी ठुलो गाउँबीच प्रतिस्पर्धा हुनेछ।