तुलसीपुर
२६-पुस/ माघ लागेसँगै थारु समुदायमा छुट्टै उत्साह छाउँछ । यही उत्साहको जीवन्त प्रतिबिम्ब बनेको छ-तुलसीपुर-५ स्थित नमुना भूह्याँर थान जबरपुरमा सुरु भएको माघ विशेष कार्यक्रम । थारु समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम केवल एक उत्सव मात्र होइन, आफ्नै मौलिकताको खोज र पुस्तान्तरणको अभियान पनि हो ।
“थारु भाषा, संस्कृति, भेषभूषा हाम्रो पहिचान, संरक्षण, सम्बर्द्धन र विकास गर्ने हाम्रो अभियान” भन्ने मूल नारासहित सुरु भएको कार्यक्रममा थारु समुदायको जीवनशैली, परम्परा र सांस्कृतिक चेतनाको सुगन्ध फैलिएको छ ।
नमुना भूह्याँर थान संरक्षण जबरपुर, मटवा महासंघ तुलसीपुर नगर समिति, थारु कल्याणकारीणी सभा क्षेत्र नं. ३ दाङ तथा थारु स्वास्थ्यकर्मी समाज दाङको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरे । उद्घाटन समारोहमा बोल्दै उनले थारु समुदायको भाषा, संस्कृति र परम्परा संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताए । “आधुनिकताको चापबीच मौलिक संस्कृतिलाई जोगाइराख्नु आजको आवश्यकता हो,” उनको भनाइ थियो ।
नमुना भूह्याँर थान संरक्षण जबरपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी र तुलसीपुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीको विशिष्ट अतिथिमा भएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिषद बुटवलका निर्देशक रामु जोशी, थारु कल्याणकारी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी, केन्द्रीय सदस्य रामबहादुर दहित, थारु बुद्धिजीवी डा. जर्मन चौधरी, तुलसीपुर उपमहानगरपालिका-१२ का अध्यक्ष खुशीराम चौधरी, १५ का अध्यक्ष लक्ष्मण चौधरी, दंगिशरण गाउँपालिका-४ का अध्यक्ष सुकलाल चौधरी, थारु कल्याणकारीणी सभा दाङ देउखरका अध्यक्ष अशोककुमार चौधरी, क्षेत्र नं. ३ का अध्यक्ष मोहन धरकटुवा थारु लगायतले थारु समुदायभित्र सांस्कृतिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखे ।
विशेष गरी नयाँ पुस्तालाई आफ्नै भाषा, संस्कृति र परम्पराप्रति आकर्षित गर्न यस्ता कार्यक्रमले पुलको काम गर्ने वक्ताहरूको भनाइ थियो ।
कार्यक्रम स्थलमा थारु मौलिक मघौटा नाच, धुमरु गीतको प्रस्तुति, परम्परागत परिकारको स्वाद र रंगीचंगी थारु भेषभूषाले माहोल झनै जीवन्त बनेको थियो ।सहभागीहरूका लागि यो दृश्य केवल मनोरञ्जन मात्र नभई आफ्नै पहिचानसँगको पुनः भेटजस्तै अनुभूति भयो ।
यसैबीच कार्यक्रममा डा. पर्शु राम चौधरी, मटवा महासंघ तुलसीपुर नगर समितिका अध्यक्ष बुझौना थारु, पत्रकार सुरक्षा चौधरी, देशबन्ध्या गुरुवा लिलामणी चौधरी, भिखु चौधरी र जुठिलाल चौधरीलाई थारु समुदायप्रति पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो ।
थारु स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष जीवराज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नमुना भूह्याँर थान संरक्षण समिति जबरपुरका उपाध्यक्ष नारायण चौधरीले गरेका थिए ।
माघ विशेष कार्यक्रमले थारु समुदायको इतिहास, संस्कृति र पहिचान केवल सम्झनामा सीमित नराखी वर्तमान र भविष्यसँग जोड्ने सशक्त प्रयास गरेको छ ।






