काठमाडौं
२७ पुस/ नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै अध्यक्ष ओलीले ध्वंस, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको भावनालाई मजबुत बनाउन सबैलाई आग्रह गरेका छन्। उनले लेखेका छन्, “आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। ध्वंस, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔं। सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना!”
उनको सन्देशमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र विकासमुखी सोचलाई प्राथमिकता दिनुपर्ने भाव व्यक्त गरिएको छ। अध्यक्ष ओलीले पछिल्ला दिनहरूमा देखिएका अव्यवस्था, तोडफोड र नकारात्मक प्रवृत्तिलाई त्याग्दै देश निर्माणतर्फ सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यस अवसरमा राजनीतिक दलका नेताहरू, सामाजिक अभियन्ता तथा सर्वसाधारणले राष्ट्रिय एकता, सार्वभौमिकता र विकासप्रति प्रतिबद्धता व्यक्त गरिरहेका छन्।






