कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि, भृकुटीमण्डपमा उद्घाटन दिउँसो १ बजे

काठमाडौ
२७ पुस/ नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ।

देशभरका विभिन्न जिल्ला तथा विदेशबाट समेत महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्। विशेष महाधिवेशनको औपचारिक उद्घाटन आज दिउँसो १ बजे हुने कार्यक्रम तय गरिएको छ। आयोजकका अनुसार करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।

गत असोज २९ गते ५४.५८ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। कांग्रेस विधानको धारा १७ (२) अनुसार कम्तीमा ४० प्रतिशत प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।

संस्थापन पक्षको बेवास्तापछि सोही विधानको प्रावधान टेकेर कांग्रेसलाई पुनःसक्रिय बनाउने उद्देश्यसहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा दुईदिने विशेष महाधिवेशन आजबाट सुरु हुन लागेको हो।