तुलसीपुर
२२-असोज/ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल ठकुरीले तुलसीपुरको शान्ति सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आज पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै डिएसपी ठकुरीले तुलसीपुरमा आफ्नो पहिलो आगमन भएको जानकारी दिंदै, यहाँको सुरक्षा अवस्थाबारे आफू पूर्णरूपमा जानकार रहेको बताए।
डिएसपी ठकुरीले तुलसीपुरलाई लागुऔषधको रेड जोन भनेर चिनिएको भएता पनि आफूले यो धारणा बदल्न हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले यस क्षेत्रका अपराधजन्य गतिविधिहरूलाई नियन्त्रणमा राख्नका लागि ठोस कदम चाल्ने र यहाँको शान्ति सुरक्षामा सुधार गर्ने बताएका छन्।
उनीसँग अनुसन्धान र अपराध नियन्त्रणका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको र तुलसीपुरमा पनि चुनौतीहरूको सामना गर्दै अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
साथै, डिएसपी ठकुरीले सूचना प्रवाहमा सहजता ल्याउन एकद्धार प्रणालीको व्यवस्था गर्ने र जनतालाई छिटो, छरितो र पारदर्शी ढंगले सूचना उपलब्ध गराउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।
उनको आगमनसँगै तुलसीपुरवासीले यहाँको शान्ति सुरक्षा सुधार हुने आशा व्यक्त गरेका छन्।