दाङ
२२-असोज/ दाङको तुलसीपुरबाट जुवा खालबाट नगदसहित ५ जना पक्राउ परेका छन् । मंगलबार करिब ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका १९ कुटिचौरस्थित शान्ती कर्मकोट सामुदायिक वनको जंगलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७० हजार नगदसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा रोल्पा गाउँपालिका २ निवासी २८ वर्षीय हिमाल वली, घोराही उपमहानगरपालिका १२ निवासी ३३ वर्षीय जिवराज रावत, तुलसीपुर उपमहानगरपालिका ९ का ३७ वर्षीय केशव शाह, वडा नं. १३ का ३० वर्षीय सुर्य बोहरा र बंगलाचुली गाउँपालिका ३ का ३० वर्षीय केदार परियार रहेका छन्।
गोप्य सूचनाका आधारमा खटिगएको जिल्ला प्रहरी कार्यालय दाङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट नगद ७० हजार ११० रुपैयाँ र तास खेल्न प्रयोग गरिएको ६ थान तासको गड्डीसमेत बरामद गरेको छ।
उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।