तुलसीपुर
२-मंसिर/ दाङको तुलसीपुरमा अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । शनिबार नेपालगञ्जबाट तुलसीपुर तर्फ आउँदै गरेको लु १ ख ४६०१ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल सिंह ठकुरीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा भारत बहराइच जिल्ला रुपैडिहा घर भइ हाल तुलसीपुर उपमहानगरपालिका ६ मदन आश्रित चोक नजिक कोठा भाडा लिएर बस्ने ३४ वर्षिय इरफान राइ, तुलसीपुर ६ बस्ने २८ वर्षिय मनोज सुनार र १९ वर्षिय रञ्जित बुढाथोकी रहेका छन् । उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउस्थित प्रहरी चेकपोष्टबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
उनीहरुका साथबाट सेतो पलाष्टिकले बेरेको ६ पुडिया खैरो रंगको जस्तो देखिने ३ ग्राम ८ सय २१ मिलिग्राम (पलाष्टिक सहित तौल गर्दा ४ ग्राम ११ मिलिग्राम) ब्राउन सुगर बरामद गरेको डिएसपी ठकुरीले बताए ।
उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।