दाङ
२६ पुस/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला समिति दाङको आयोजनामा वनभोज, माघी मिलन, प्रशिक्षण तथा संगठन विस्तार कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
महासंघ जिल्ला अध्यक्ष शरदराज गिरीको अध्यक्षता र केन्द्रीय सचिवालय सदस्य राजकुमार पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला र नगर तहका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। दाङका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।
प्रमुख अतिथि पौडेलले देश पछिल्ला आन्दोलनको प्रभावले जटिल अवस्थामा पुगेको उल्लेख गर्दै त्यसको उपचार गर्ने मुख्य जिम्मेवारी स्वास्थ्यकर्मीहरूको काँधमा आएको बताए। उनले महासंघको नीति र कार्यदिशा अनुसार एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। साथै, स्वास्थ्यकर्मीहरूको पेशागत हकहितका लागि छुट्टै स्वास्थ्य ऐन ल्याउन महासंघ सफल भएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा अझ प्रभावकारी बनाउन सबैको भूमिका आवश्यक रहेको बताए।
प्रशिक्षण सत्रमा प्रदेश सह–इन्चार्ज सुन्दर तारामोले संगठनको नीति तथा कार्यदिशाबारे, केन्द्रीय सदस्य विमल केसीले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी—दैनिक एक घण्टा आफ्नो परिवार र संगठनका लागि’ अभियानबारे प्रशिक्षण दिएका थिए। लुम्बिनी प्रदेश अध्यक्ष दोर्णबहादुर ओलीले संगठनमार्फत निडर भएर पेशागत समस्या उठाउन स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्दै महासंघ सधैं उनीहरूको पक्षमा उभिने प्रतिबद्धता जनाए।
कार्यक्रममा नगर प्रमुख टीकाराम खड्का, नेकपा एमाले प्रदेश कमिटी सदस्य हुकुमबहादुर बस्नेत, जिल्ला सचिव श्याम डाँगी, उपसचिव भुवनेश्वर पौडेल लगायतले स्वास्थ्यकर्मीहरूलाई जनताको स्वास्थ्य अधिकारको रक्षा गर्दै इमानदार, जिम्मेवार र जवाफदेही भएर सेवा गर्न आग्रह गरे।
उक्त अवसरमा चूर्णबहादुर ओली र मणिराम ओलीलाई महासंघका मानार्थ सदस्यका रूपमा सम्मान गरियो। साथै नवप्रवेशी शिव कवर, प्रेम रसाइली, शरद खत्री र सन्देश देवकोटालाई टीका–खादा लगाएर सदस्यता प्रदान गरियो।
संगठन विस्तार अन्तर्गत दीपा सुनारको अध्यक्षतामा १५ सदस्यीय नेपाल नर्सिङ पेशाकर्मी संघ जिल्ला समिति र डा. मदन पोखरेलको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्यकर्मी संघ जिल्ला समिति गठन गरियो।
माघी पर्वको अवसरमा महासंघ लुम्बिनी प्रदेश उपसचिव पारस रावल, पेशागत महासंघ दाङ अध्यक्ष खिमबहादुर डाँगी, नेपाल निजामती कर्मचारी संगठन दाङ अध्यक्ष गोकर्ण ओली, महासंघ बाँके अध्यक्ष राजन शाही, बर्दिया अध्यक्ष गणेश आचार्य, सल्यान अध्यक्ष लोकबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरे। कार्यक्रमको सहजिकरण जिल्ला सचिव रोमहर्ष केसीले गरेका थिए।






