सह–योगी शिक्षक तालिमको समापन

देविराम कुसारी, तुलसीपुर
२६ पुस /बखरिया योग साधना केन्द्र, तुलसीपुर–१३ दाङको आयोजनामा सञ्चालन भएको १५ दिने सह–योगी शिक्षक प्रशिक्षण तालिम आज शनिवार सफलतापूर्वक सम्पन्न भएको छ।

समापन कार्यक्रममा बोल्ने सहभागीहरूले प्रकृति कमजोर बन्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मानिसले आफ्नो जीवनशैलीलाई योगमय बनाउनुपर्नेमा जोड दिएका थिए। योगमार्फत शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम गर्न सकिने उनीहरूको भनाइ थियो।

कार्यक्रम साधना केन्द्रका अध्यक्ष नवराज रावतको अध्यक्षतामा तथा वडा अध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। समापन सत्रमा पतञ्जली योग दाङका जिल्ला मिडिया प्रभारी निमा बस्नेत, जिल्ला सदस्य सुमन गिरी, तुलसीपुर नगर अध्यक्ष पविता योगी, प्रशिक्षक हरी कडेल तथा सहभागी हेता रजौरेलगायतले आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको सुरुवात साधना केन्द्रका सन्तोष बस्नेतको स्वागत मन्तव्यबाट भएको थियो भने सहजिकरण देविराम कुसारीले गरेका थिए। तालिममा महिला र पुरुष गरी जम्मा ३० जनाको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।