पढाइसंगै व्यापारको अभ्यास : मेला स्टलमै कक्षा

जयन्ती चौधरी, तुलसीपुर
११-पुस/ झ्वाट्ट हेर्दा कुनै होटलको खाजाघरजस्तै लाग्छ । कोदोको मोमोको बास्ना, चिकेन चाउमिनको स्वाद र अर्गानिक परिकारका थालहरूले ग्राहकलाई आकर्षित गरिरहेका छन् । तर यो कुनै स्थायी होटल होइन । यो त तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरूको अस्थायी कक्षाकोठा हो-जहाँ पढाइ किताबमा मात्र होइन, व्यवहारमै भइरहेको छ ।

तुलसीपुर उपमहानगरपालिका-७ मा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालित महोत्सवभित्र व्यवस्थापन संकाय अन्तर्गत बीएचटीएम (Bachelor in Hotel and Tourism Management) पहिलो वर्षमा अध्ययनरत २१ जना विद्यार्थीले संयुक्त रूपमा स्टल सञ्चालन गरिरहेका छन् । प्रतिव्यक्ति एक हजार रुपैयाँ लगानी गरेर सुरु गरिएको यो स्टल उनीहरूका लागि केवल व्यापार होइन, भविष्यको अभ्यासशाला बनेको छ ।

स्टलमा मुख्य रूपमा कोदोको मोमो, चिकेन चाउमिन र अर्गानिक खानाका परिकार छन् । स्वास्थ्यप्रति सचेत ग्राहकको रोजाइमा कोदोको मोमो परे पनि चाउमिन र मोमोको माग निरन्तर छ । विद्यार्थीहरू स्वयं सामग्री तयारीदेखि बिक्री, हिसाबकिताब र ग्राहक व्यवस्थापनसम्ममा संलग्न छन् ।

स्टल सञ्चालन गरिरहेका तुलसीपुर-९ बेलुवाका चिरञ्जीवी बुढामगर भन्छन्, “हामीले पढिरहेको विषयअनुसार नै काम गरिरहेका छौँ । कलेज र सरहरूको प्रेरणाले यस्तो अवसर पायौँ । किताबमा पढेका कुरा व्यवहारमा उतार्न पाउँदा आत्मविश्वास बढेको छ ।”

उनका अनुसार कलेजले पढाइलाई कक्षाकोठामा मात्र सीमित नराखी व्यवहारिक बनाउने उद्देश्यले विद्यार्थीलाई मेलामा सहभागी गराएको हो । शिक्षक-शिक्षिकाको निरन्तर मार्गदर्शनले विद्यार्थीहरूलाई व्यापारिक सोच र पेशागत अनुशासन सिक्न मद्दत पुगेको उनीहरूको अनुभव छ ।

साथीहरूसँग मिलेर काम गर्दा जिम्मेवारी बाँड्ने, समस्या समाधान गर्ने र ग्राहकसँग शिष्ट व्यवहार गर्ने सीप विकास भइरहेको विद्यार्थीहरू बताउँछन् । दैनिक ५-६ हजार रुपैयाँसम्मको कारोबारले सानो लगानीबाट पनि सम्भावना खोज्न सकिने विश्वास जगाएको छ ।

“भविष्यमा कस्तो हुन्छ, हेर्दै जाऔँला,” बुढामगर मुस्कुराउँदै भन्छन्, “तर लक्ष्य भने यही क्षेत्रमा केही गर्ने हो ।”

सामान्य देखिने यो स्टल वास्तवमा विद्यार्थीहरूका लागि खुला प्रयोगशाला बनेको छ । यहाँ उनीहरूले होटल तथा पर्यटन व्यवस्थापनको आधारभूत ज्ञान मात्र होइन, उद्यमशीलताको स्वाद पनि चाखिरहेका छन् ।

विद्यार्थीलाई महोत्सव आयोजक समितिले नि:शुल्क रुपमा स्टल उपलब्ध गराएको हो ।

मेला भित्रको एउटा सानो स्टलले देखाएको छ-पढाइ र व्यवहारिक अनुभव सँगै अघि बढे भने विद्यार्थीहरू स्वयं भविष्य निर्माणका कर्ता बन्न सक्छन् । तुलसीपुरका यी विद्यार्थीहरूका लागि मेला केवल रमाइलोको थलो होइन, जीवन सिक्ने विद्यालय बनेको छ ।

महोत्सव आफैं पनि स्थानीय उत्पादनको बजारीकरण, कला-संस्कृतिको प्रवर्द्धन र पर्यटन प्रवाह बढाउने उद्देश्यले सञ्चालन भइरहेको छ । दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, जलपरी र लण्डन ब्रिजजस्ता आकर्षणले दर्शकको भीड तानेको छ । फोटो र भिडियो खिच्नेको घुइँचो लाग्ने यी संरचनाले महोत्सवलाई थप जीवन्त बनाएको छ ।

स्थानीय कृषिजन्य वस्तु र हस्तकलाका सामग्रीको कारोबार भइरहेको जानकारी महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले दिए । उनका अनुसार पुस ४ गतेदेखि सुरु भएको महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ ।