तुलसीपुर
४ पुस / लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नेपालमा जन्मिएर विदेशको सपना देख्ने प्रवृत्तिलाई राष्ट्रघातीको संज्ञा दिएका छन। दाङको तुलसीपुरमा शुक्रबारदेखि सुरु भएको प्रथम तुलसीपुर महोत्सव उद्घाटन गर्दै उहाँले आफ्नै ठाउँ, माटो र पहिचानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन।
सभामुख घर्तीले घरेलु तथा साना उद्योग प्रवर्द्धनका लागि प्रदेश सरकारले चाँडै ऐन निर्माण गर्ने प्रतिबद्धता जनाउँदै किसानका उत्पादनको बजारीकरणमा महोत्सव उपयोगी हुने बताए।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले दर्ता भएका उद्योगमध्ये आधा मात्रै नवीकरण भएको उल्लेख गर्दै नवीकरण सहज बनाउने वातावरण आवश्यक रहेको बताए। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले महोत्सवले स्थानीय कला–संस्कृति संरक्षण, कृषि बजारीकरण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।
महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले महोत्सवबाट बचत भएको रकम सार्वजनिक हितका काममा खर्च गरिने जानकारी दिएका छन। उद्घाटनपूर्व झाँकीजुलस र र्यालीले तुलसीपुर बजार परिक्रमा गर्दा ठूलो जनसहभागिता देखिएको थियो।
महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ। शनिबार चर्चित कलाकार रामजी खाँण, भूमिका गिरी, रचना चौधरी, राजमान खत्री लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ।






