रुपन्देहीमा किशोरको हत्या, नालीमा भेटियो शव

रुपन्देही
४ पुस/ रुपन्देहीमा एक किशोरको शव नालीमा फेला परेको छ । कञ्चन गाउँपालिका–३ धौलागिरी चोक निवासी १७ वर्षीय ईशान शर्मा पौडेलको हत्या भएको हो । उनी तेक्वान्दोका खेलाडीसमेत थिए ।

प्रहरीका अनुसार ईशान बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन थिए । खोजतलासका क्रममा घरबाट करिब डेढ सय मिटर टाढा रहेको नालीमा उनको शव फेला परेको हो । शवको टाउकोको पछिल्लो भागमा चोट देखिएको र घटनास्थलमा केही रगत बगेको अवस्थामा भेटिएकाले अन्यत्र हत्या गरी शव नालीमा फालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीयका अनुसार करिब एक साताअघि विद्यालय परिसरमा एउटै युवतीको विषयलाई लिएर ईशान र उनका केही साथीहरूबीच विवाद भएको थियो । सोही विवादकै कारण उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

कञ्चन–३ का वडा सदस्यसमेत रहेका छिमेकी दीपक अधिकारीका अनुसार ईशान कुनै कुलतमा संलग्न रहेको जानकारी थिएन । “उनी आफ्ना कुरामा अडिग रहने स्वभावका थिए । केही दिनअघि विद्यालय परिसरमा युवतीको विषयलाई लिएर साथीहरूसँग विवाद भएको कुरा सुनिएको छ, यद्यपि वास्तविक कारण प्रहरी अनुसन्धानपछि मात्रै खुल्नेछ,” उनले भने ।

उनका अनुसार घटनाको दिन ईशान जिम गर्न गएका थिए र उनीसँगै जिमबाट निस्केका एक साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हालसम्म अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीका सूचना अधिकारी सुरज कार्कीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको र घटनास्थल वरपर निगरानी बढाइएको जानकारी दिए । दोषीलाई शीघ्र पक्राउ गरी कडा कारबाही गर्न स्थानीयवासीले माग गरेका छन् ।

ईशानकी आमा गाउँमै ब्यूटी पार्लर सञ्चालन गर्दै आएकी छन् । तर, घटनाको दिन उनी गाउँ बाहिर रहेको बताइएको छ ।