दाङमा ‘जेन-जी’ आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न ९ जना पक्राउ

दाङ
२३- कार्तिक/ भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा दाङको घोराहीमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा नौ जना पक्राउ परेका छन्।

आन्दोलनका क्रममा घोराहीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय र भानुचोकमा रहेको प्रहरी बिटमा ढुंगामुढा, तोडफोड, लुटपाट, चोरी तथा आगजनी गरी क्षति पुर्‍याइएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये आठ जना ट्राफिक प्रहरी कार्यालयमा आगजनी, लुटपाट र चोरीमा संलग्न रहेको र एक जना भानुचोकस्थित प्रहरी बिटमा आगजनी तथा तोडफोडमा संलग्न रहेको बताइएको छ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१५ का २४ वर्षीय सुनिल थापा मगर, सोही ठाउँका २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय ईनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी, १८ वर्षीय बिबेक पुन मगर रहेका छन् ।

त्यस्तै, सल्यान छत्रेश्वरी गाउँपालिका-४ का २६ वर्षीय अमर बहादुर वली, घोराही उपमहानगरपालिका-१३ का २९ वर्षीय महेश घिमिरे, घोराही उपमहानगरपालिका-९ ढिकपुरका ३४ वर्षीय शरद बस्नेत, भानुचोक प्रहरी बिटमा आगजनी गर्ने घोराही-१३ का २५ वर्षीय सन्दिप घर्ती रहेका छन् ।

जिल्ला अदालत दाङबाट, ट्राफिक प्रहरी कार्यालयमा भएको घटनामा संलग्नहरूलाई पाँच दिन र प्रहरी बिटमा आगजनी गर्ने व्यक्तिलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।