लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बीच संयुक्त संवाद, कर्णाली नदी संरक्षणका लागि कार्यदल गठन

बर्दिया
३ पुस/ लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरू बीच कर्णाली नदीको स्रोत उपभोग र संरक्षणसम्बन्धी समस्याहरू समाधान गर्न एक संयुक्त सुझाव कार्यदल गठन गरिएको छ।

उक्त कार्यदल लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा गठन गरिएको हो।जसमा दुवै प्रदेशका सरकारका सचिवहरू, वन मन्त्रालयका प्रतिनिधिहरू, स्थानीय तहका प्रतिनिधिहरू, निकुञ्जका प्रतिनिधिहरू र नापी कार्यालयका सदस्यहरू समावेश हुनेछन्। कार्यदलले समस्याहरूको पहिचान गरी समाधानका विकल्प र प्राथमिकता निर्धारण गर्ने छ।

मुख्यमन्त्री चेतनारायण आचार्य र कमलबहादुर शाहले समस्या समाधानका लागि प्रदेश सरकारको पहलको आवश्यकता रहेको बताए। यसरी, दुवै प्रदेशले संयुक्त पहल गर्दै प्राकृतिक स्रोतको संरक्षण र सिमानासम्बन्धी समस्याहरू समाधान गर्ने लक्ष्य राखेका छन्। कार्यदलले ऐन, कानुन, बजेट र कार्यक्रमका बारेमा पनि सुझाव संकलन गर्नेछ।

यस संवादमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उर्जा मन्त्री सीता शर्मा चौधरी, सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल र आर्थिक मामिला राज्य मन्त्री प्रकाश वम सहभागी थिए।