दाङ
२० पुस/ प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फ नेकपा एमालेले दाङ क्षेत्र नम्बर २ बाट पार्टीका महासचिव शंकर पोखरेललाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
आज बसेको एमाले दाङ–२ क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय संयोजक सुदन केसीका अनुसार बैठकले पोखरेलको राजनीतिक अनुभव, पार्टीप्रतिको योगदान र क्षेत्रसँगको नजिकको सम्बन्धलाई आधार मानेर नाम सिफारिस गरेको हो।
दाङ क्षेत्र नम्बर २ महासचिव पोखरेलको गृह क्षेत्रसमेत पर्दछ। लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय पोखरेललाई क्षेत्रका कार्यकर्ता तथा स्थानीय मतदाताले प्रभावशाली नेताका रूपमा लिँदै आएका छन्।
क्षेत्रीय कमिटीको सिफारिस अब पार्टीको केन्द्रीय तहमा पठाइने जनाइएको छ।






