दाङ
१५-पुस/ काठमाडौंबाट चोरी भई दाङ ल्याइएको ६४ लाख ८१ हजार रुपैयाँ नगद प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका-६ गोलौराबाट बरामद गरेको छ। उक्त रकमसहित २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार चोरी भएको स्थानमा जडान गरिएको सिसिटिभी फुटेज तथा प्राप्त गोप्य सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सिसिटिभी फुटेजबाट पहिचान भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले केसीको घर पहिचान गरी निगरानी सुरु गरेको जनाएको छ।
प्रहरीले रातभर घरभन्दा केही टाढाबाट गोप्य निगरानी गरेपछि मंगलबार बिहान घरमा खानतलासी गरेको थियो। सो क्रममा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको नगद फेला परेको हो।
विद्युत भोल्टेजको समस्याका कारण नगद गन्ने मेसिनले काम नगरेपछि हातैले गणना गर्दा बरामद रकम ६४ लाख ८१ हजार रुपैयाँ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पेशाले प्लम्बर रहेका केसी सोमबार साँझ मात्र काठमाडौंबाट घर फर्किएको खुलेको छ। प्रारम्भिक अनुसन्धानमा उनले काठमाडौंको विशालनगरस्थित एक निजी घरबाट नगद चोरी गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






