हामी किन फुट्दै छौ र उनीहरु किन जुट्दै छन् ?

रामबहादुर जिसी, तुलसीपुर
नेपाली राजनीतिमा आज एउटा गम्भीर प्रश्न उभिएको छ— हामी किन फुट्यौँ र उनीहरू किन जुट्दैछन् ? यो प्रश्न भावनात्मक मात्र होइन, ऐतिहासिक, वैचारिक र व्यवहारिक पनि छ।

हालै बालेन शाह र रवि लामिछाने जस्ता बिपरित स्वभाव, फरक पृष्ठभूमि र अलग राजनीतिक शैली भएका पात्रहरू नयाँ परिस्थितिमा एकजुट हुँदै आसन्न चुनावी मोर्चामा सँगै जाने, संसदीय फाँट र भावी प्रधानमन्त्रीको टुंगो लगाउने, यहाँसम्म कि पार्टी एकताको घोषणा सहित संयुक्त विज्ञप्ति सार्वजनिक गरेपछि नेपाली राजनीतिक बजार तातिनु स्वाभाविक हो।

तर प्रश्न यति मात्रै होइन— अब के होला ?
उनीहरू हाम्रो कमजोरीबाट जन्मिएका हुन्

साँचो कुरा के हो भने, उनीहरू आकस्मिक रूपमा जन्मिएका होइनन्। हाम्रै कमजोरी, हाम्रै असफलता र हाम्रै आत्मसमीक्षाको अभावबाट उनीहरू जन्मिएका हुन्।

न वामपन्थीहरूले वामपन्थी जस्तो आचरण, व्यवहार र जीवनशैली देखाउन सके,न लोकतान्त्रिकहरूले लोकतान्त्रिक मूल्य, संस्कार र उत्तरदायित्व प्रदर्शन गर्न सके।

यही शून्यतामा, यही असन्तुष्टिको गर्भबाट “न पूरै वाम, न पूरै लोकतान्त्रिक” तर भावनात्मक, आक्रोशयुक्त र तुरुन्त प्रतिक्रिया दिने नेतृत्व जन्मियो।

यो सत्यलाई नकार्नु आत्मछल मात्र हुनेछ।समाजको मनोविज्ञान र नयाँ पात्रहरूको स्वीकार्यता हाम्रो समाज बहकाउमा छिट्टै पर्ने, भावनामा बग्ने र उत्तेजनामा निर्णय गर्ने स्वभावको छ।

त्यसैले यसपटक पनि केही समयका लागि भए तापनि यस्ता पात्रहरूलाई समाजले स्वीकार गर्ने सम्भावना प्रबल देखिन्छ।

किनभने— पुराना शक्तिहरूले तलदेखि माथिसम्म यत्रतत्र बिगारे सत्य बोल्न, शिर ठाडो पारेर जनताको पक्षमा उभिन सक्ने वातावरण बनाएनन्। पार्टी समर्थक शुभेच्छुक ,बुद्धिजीवी र कार्यकर्ता पंक्तिले सकारात्मक सुझाव सहितको पटक–पटक “सिद्दिने कि सच्चिने?”भन्दै औल्याए पनि  प्रश्न र सवाल उठाए पनि पार्टी नेतृत्व र अगुवाले गम्भीरतापूर्वक लिएनन्।

न सच्चिने प्रयास भयो, न सच्याउने इच्छाशक्ति देखियो।
हामी फुट्दैछौँ तर उनीहरू जुट्दैछन्, मिल्दै छन् ।
आज विडम्बनापूर्ण दृश्य देखिँदैछ—

उनीहरू मिलिरहेका छन्, हामी फुटिरहेका छौँ
उही लय, उही छाँट, उही पुरानो रोग। जबकि आजको आवश्यकता हो— आत्मसमीक्षा, पुनः ब्युंझिएर उठन, सच्चिन र सच्याउने साहस जुटाउन । यस प्रक्रियामा हरेकले नैसिहत पनि पाउनुपर्छ, आलोचना पनि सहनुपर्छ।

तर समस्या के भयो भने—जब हाम्रा विरुद्ध गलत अफवाह र भ्रम सिर्जना गरिन्छ ,अत्यधिक आक्रमण हुन्छ, त्यस भ्रमलाई चिर्न,त्यसो होईन है यसो हो भन्ने बक्के फुटन नपाउंदै  बेसोमत मिजासको भद्दा, अश्लील र छुद्र गाली खाइन्छ। यसरी ती बेसोमत र असभ्य मिजासकाहरु संग अनावश्यक दन्तबझान नगर्नू” भन्दै बेवास्ता गरिन्छ।

यो स्थिति कुनै स्वस्थ लोकतन्त्रको परिचायक होइन। तर पनि आत्तिनु आवश्यक छैन।इतिहासले देखाएको छ— तिब्र महत्वाकांक्षा, बिपरित स्वभाव, स्वार्थ समूह र अवसरवादको गठजोड लामो समय टिक्दैन।

आज जुन गठजोड शक्तिशाली जस्तो देखिएको छ त्यही गठजोडको गन्तव्यहिन यात्रा अन्तत अक्करे भिरमा गएर अड्किने पक्का छ ।

समाजमा नकारात्मकता, निराशा र भडकाउ अभिव्यक्तिको खेती गरेर—समाजलाई दूषित बनाउने आफ्नै देशका महत्त्वपूर्ण प्रतिष्ठानमा आगो लगाउने मानसिकता बोकेकाहरू,खरानीको व्यापार गरेर राजनीति गर्नेहरूलाई जब आम नागरिकले उनीहरूको वास्तविक अशलियत बुझ्न थाल्नेछन्,त्यसपछि समाज आफैँ झस्किनेछ।

अन्ततः कर्मकै फैसला हुन्छ,अन्त्यमा सत्य सरल छ— जो जहाँ आपराधिक मनसायका साथ खटिएका छन्, उनीहरू आफ्नै अपराधले डामिनेछन ,जो इमानदारीपूर्वक राम्रो काममा लागेका छन्, उनीहरू आफ्नै कर्मले पुरस्कृत हुनेछन्। इतिहास कसैको भावनाले होइन, कर्मले लेखिन्छ।

हामीलाई आज चाहिएको कुरा—हतारो होइन, धैर्यआवेग होइन, विवेक ,आरोप होइन, आत्मसमीक्षा हो । केही समय पर्खौँ, हेरौँ।  राजनीतिमा जो जे हो अन्तिम निर्णय जनताले गर्छन्, इतिहासले अन्तिम मूल्याङ्कन गर्छ।
धन्यवाद।