काठमाडौ
८ पुस/ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न अनुकूल वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलबीच समझदारी भएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा मङ्गलबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यस्तो सहमति जुटेको हो।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको वातावरण निर्माणका विषयमा थप विस्तृत छलफल प्रधानमन्त्री निवास बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ।
छलफलका क्रममा राष्ट्रपति पौडेलले देशको वर्तमान गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै यसको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताए। “देशको गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको साझा दायित्व हो,” राष्ट्रपति पौडेलले भने।
उनले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।






