तुलसीपुर
४ पुस/ तुलसीपुर उपमहानगरपालिका–६ स्थित हात्तीखौवा चोकको खाली जमिनमा आजदेखि १५ दिन लामो व्यापार महोत्सव सुरु हुँदैछ। पुस ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सव आयोजना गर्ने जिम्मा यसपटक नेपाल घरेलु तथा साना उद्योग महासंघले पाएको छ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ।
आयोजक महासंघका अध्यक्ष लालबहादुर केसीका अनुसार महोत्सवमा कृषी तथा उत्पादनसँग सम्बन्धित ५० वटा स्टल कृषकहरूलाई निःशुल्क प्रदान गरिनेछ। ती स्टलमा राखिएका कृषी उपजको आधारमा उत्कृष्ट कृषी उद्यमीलाई महोत्सव समापनका अवसरमा सम्मान गरिनेछ।
युवा उद्यमशीलता प्रवर्द्धन महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष केसीले बताए। साथै, स्थानीय व्यवसायीलाई स्टल शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिनेछ। महोत्सवमा कुल साढे चार सयभन्दा बढी स्टल रहने जानकारी दिइएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव भद्रबहादुर वलीका अनुसार महोत्सवका मुख्य आकर्षणमा लन्डन ब्रिज, जलपरी र फिस टनेल रहनेछन्।
महोत्सव सफल बनाउन २५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने २७ वटा विभिन्न उपसमिति तथा तिनका संयोजकहरू चयन गरिएका छन्।
महोत्सवबाट करिब तीन करोड रुपैयाँ बराबरको व्यापार हुने र महासंघका लागि करिब ३० लाख रुपैयाँसम्म बचत गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।






