विचारको ज्वारभाटा : नारायण गुरुको जीवन प्रवाह

राम बहादुर जिसी, तुलसीपुर
साहित्यका विविध विधामध्ये संस्मरण, निबन्ध र आत्मवृत्तान्त मलाई विशेष प्रिय लाग्छन्। कारण स्पष्ट छ—यी विधामा व्यक्तिका निजी भोगाइ र आत्मचिन्तन भए पनि तिनको अभिव्यक्ति काल्पनिकभन्दा बढी सामाजिक यथार्थसँग गाँसिएको हुन्छ। सामाजिक प्राणी भएकाले हामी एक–अर्काले भोगेका सुख–दुःखका कथाहरूमा आफ्नै अनुभवको झल्को पाउँछौँ। त्यसैले कथा, निबन्ध, उपन्यास, कविता वा संस्मरण पढ्दा–सुन्दा मानिस कहिले भावुक बन्छ, कहिले सहमत–असहमत, कहिले आलोचनात्मक।

विद्वान् व्यक्तित्व टिकाराम उसासीद्वारा अत्यन्तै मिहिनेत र जाँगरका साथ सम्पादित यो आत्मवृत्तान्त पढ्दै गर्दा धेरै ठाउँमा मेरा भावना, अनुभव र विचार लेखकसँग मेल खाएको महसुस भयो।

वि.सं. १९८८ सालमा घोराही–बर्गदीमा जन्मिएका नारायण प्रसाद शर्मा (नारायण गुरु) ९५ वर्षको उमेरमा पनि युवा मस्तिष्क र अदम्य जाँगरका साथ सामाजिक सरोकारका मुद्दामा सार्वजनिक मञ्चमै बौद्धिक विमर्शमा सहभागी हुन्छन् र लेखनमार्फत आफ्ना विचार प्रकट गर्छन्। उहाँको त्यो उत्साह र सक्रियता देख्दा जो–कोहीलाई ‘अहा!’ भन्न मन लाग्छ। पुस्तकको शीर्षकले झैँ—मार्क्सदेखि बुद्धसम्म—उहाँको चेतना जनजीवन सुधार, मानवीय मूल्य–मान्यता, नैतिक आचरण, मानवअधिकार र मानवतावादका प्रश्नमा शान्त, गम्भीर र स्पष्ट छ; सैद्धान्तिक, वैचारिक र दार्शनिक स्पष्टताले निखारिएको छ।

तेह्र वर्षको उमेरमै आमाको निधन भएपछि मातृत्व स्नेहबाट वञ्चित बालक नारायण गुरु ठूली आमाको रेखदेखमा हुर्किन्छन्। मध्यमवर्गीय परिवार, बुवाको पुरेत्याइँ र सामान्य खेतीपाती—यी सबैबीच उहाँको जीवनमा आम मानिसले भोग्ने हन्डर–ठक्करका अनुभवहरू छन्। यातायातको अभावमा टाढाको विद्यालय खाली खुट्टा हिँड्नु, रित्तो गोजी, टालिएका लुगा, सम्पन्न गोतियार र आफन्तको हेपाहा दृष्टि—यी सबैले पटक–पटक स्वाभिमानमा ठेस पुर्‍याएको पीडा पुस्तकमा इमानदारीपूर्वक आएको छ।

गाउँका ठालुका सन्तानबाट देखिने हेलाहोचो र अपमानका व्यवहारले सानैदेखि अन्याय र दमन सहन नसक्ने विद्रोही चेतना पलाएको प्रसङ्ग उल्लेखनीय छ। २००७ सालपछिको जागरणमा दलितमाथिको छुवाछूत र विभेदविरुद्ध प्रश्न तेर्स्याउँदै ढाँटगाउँका विश्वकर्माको घरमा स्वयं प्रमुख वाचक बनेर पूजा–कथा लगाउनु, दलितसँग घुलमिल गर्नु—यी कार्यका कारण समाजबाट बहिष्कारजस्तै व्यवहार भोग्नुपरेको कटु अनुभव पनि पुस्तकमा स्मरण गरिएको छ।

विधवाको पुनर्विवाहको पक्षमा इन्दुमती र जातीय विभेदविरुद्ध अभिमन्यु जस्ता नाटक लेखी मञ्चन तथा सडक प्रदर्शनमार्फत नागरिक सचेतनामा सक्रिय सहभागिता—यी जागरणका प्रसङ्गले लेखकको सामाजिक प्रतिबद्धता उजागर गर्छन्।

भौतिकवादी दर्शन र वामपन्थी विचार बोकेर अघि बढ्दा पुरातन संस्कारमा अडिएका सहोदर बुवासँग पनि कहिलेकाहीँ मतभेद र ठोक्किनु परेको, तर छोराले बुवासँग विवाद बढाउनु हुँदैन भन्ने आत्मबोधले संयम रोजेको प्रसङ्ग मानवीय संवेदनाको सशक्त उदाहरण हो।

२०१० देखि २०१५ सालसम्म नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिवको जिम्मेवारी, २०१६ सालको संसदीय निर्वाचनमा दाङ (पूर्व) बाट उम्मेदवारी र पराजय, २०१७ सालपछि सुरक्षा कानुनअन्तर्गत तीन वर्ष जेल—यी सबै राजनीतिक उतार–चढावका बीच आर्थिक अभावका कारण सक्रिय राजनीति छोड्नु परेको अन्तर्द्वन्द र पीडा पनि पुस्तकमा सजीव छ।

सक्रिय राजनीतिबाट गृहस्थ जीवनमा फर्किएपछि शिक्षण पेशामा रहँदा ‘वामपन्थी स्कुलिङ’ को आरोपमा विद्यालयबाट हटाइनु—त्यस समयको असहिष्णुता र दमनको यथार्थ चित्र हो। तथापि, वामपन्थी आन्दोलनका टुटफुट र गाली–राजनीतिप्रति चिन्ता व्यक्त गर्दै पनि मार्क्सवादी विचारबाट विचलित नभई समाजसेवा, साहित्य र पत्रकारितामार्फत रूपान्तरणको बाटो खोजिरहनु उहाँको दृढता हो।

जेलजीवनलाई ‘विश्वविद्यालय’ ठानी राहुल सांकृत्यायन, मार्क्स, लुसुन, म्याक्सिम गोर्की, ल्यु साओची, दयानन्द सरस्वती आदि विचारकका कृतिहरू अध्ययन गरी विश्वदृष्टि परिपक्व बनाएको विवरण प्रेरक छ। यसै वैचारिक सुझबुझले निजीभन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने जीवनपद्धति विकास भएको देखिन्छ।

भावुकता र संवेदनशीलताबारे लेखकको स्वीकारोक्ति—“मानिसको यही स्वभाव नै उसको पूँजी हो”—गहिरो अर्थ बोकेको छ। संवेदनशीलताले नै मानवता र सामाजिक जीवनतर्फ उन्मुख गराएको अनुभूति पुस्तकको बलियो अन्तर्धारा हो।

गृहस्थ जीवनमा प्रवेशपछि २०३२ सालमा पुरानो छापाखाना किनेर २०३३ असोजदेखि युगबोध पत्रिकाको प्रकाशन, र २०३९ सालमा गिरिजाप्रसाद कोइरालाको अन्तर्वार्ता छापेकै कारण पत्रिकामाथि प्रतिबन्ध—यी प्रसङ्गले प्रेस स्वतन्त्रतामाथिको दमनलाई उजागर गर्छन्।

बाल्यकालको सनकपन, तीनपटक भारतसम्म भागेको रोचक अनुभव, गल्ती–कमजोरीलाई नलुकाई आत्मप्रशंसा नगर्ने स्पष्टता, माछा–मासु, रक्सी, चुरोट, खैनी सेवनजस्ता प्रसङ्गमा पनि नैतिक आत्मसंयम—यी सबैले आत्मवृत्तान्तलाई विश्वसनीय बनाउँछन्।

दाङको कम्युनिस्ट आन्दोलनका हस्ती नेत्रलाल अभागीसँगको सम्बन्ध, मतभेद हुँदाहुँदै पनि सकारात्मक मूल्याङ्कन, सर्वोदय पुस्तकालय स्थापनामा खेलेको भूमिका, शिक्षण पेशामा १०० पूर्णाङ्क दिने साहसिक निर्णय—यी स–साना तर अर्थपूर्ण प्रसङ्गहरूले व्यक्तित्वको आयाम विस्तार गर्छन्।

मानव सभ्यतामा सत्ता, शक्ति र स्वार्थका कारण निम्तिएका युद्ध, आणविक होडबाजी, कमजोर राष्ट्रमाथिको हस्तक्षेप—यी प्रश्नसँगै मानवता क्षयको चिन्ता व्यक्त गर्दै बुद्ध शिक्षाको ध्यान, ज्ञान र करुणालाई आजको सन्दर्भमा अत्यन्त सान्दर्भिक ठहर गर्नु पुस्तकको दार्शनिक निष्कर्ष हो।

सम्पादक टिकाराम उसासीले इतिहास बोकेको व्यक्तित्वको अन्तर्मन छाम्ने उद्देश्यले देखाएको मिहिनेत प्रशंसनीय छ। स्वयं लेखकको स्वीकारोक्ति अनुसार पनि यस कृतिमा जीवनका मुख्य अन्तर्वस्तु समेटिएका छन् र आफ्नो एकबारको जीवन तुच्छ नबनाएको गौरवबोध स्पष्ट छ।

घरमै अक्षरारम्भदेखि नेपाली विषयमा एम.ए.सम्मको औपचारिक अध्ययन, पाठ्यक्रमबाहिरका असंख्य ग्रन्थहरूको स्वाध्ययन—यी सबैले नारायण गुरुको ज्ञान–क्षेत्र विशाल र बोधगम्य बनेको छ। नागरिक समाजको अगुवाइ, प्रेस काउन्सिलको अध्यक्षता र अन्तरिम व्यवस्थापिका संसद्को अनुभवसमेतले उहाँलाई परिपक्व साझा व्यक्तित्व बनाएको छ।

आज समाज मूल्यहीनता, अराजकता र अनैतिकताले ग्रस्त देखिँदा इमान र नैतिक पूँजी जोगाएर हिँड्ने नारायण प्रसाद शर्माजस्ता सज्जन व्यक्तित्वको चर्चा गर्नु आफैंमा प्रेरणादायी छ।

होचो कद तर वैचारिक उचाइले अग्ला वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्माको जीवन प्रवाह—मार्क्सदेखि बुद्धसम्म पठनीय कृति हो। उहाँलाई थप जान्न–बुझ्न चाहने पाठक, श्रोता र शुभेच्छुक सबैका लागि यो पुस्तक संग्रहयोग्य र अध्ययनयोग्य छ।