आज शेयर बजार ११ दशमलव २९ अङ्कले घट्यो

काठमाडौं
२०-कार्तिक/ हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २९ अङ्कले घटेर २ हजार ५ सय ९६ दशमलव १२ विन्दुमा झरेको छ ।

आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको घटेकोमा निर्जीवन बीमा समूहको शेयर १०८ अङ्कले ओरालो लागेको छ । आज १६५ वटा कम्पनीकाे शेयर घटेकाेमा ७८ वटाकाे बढेकाे छ । यस्तै ९ वटा कम्पनीकाे शेयर घटबढ भएकाे छैन ।

आज सम्पदा लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन दरमखोला हाइड्रो इनर्जी र माबिलुङ इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ८ लाख कित्ता शेयर ५ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।