विमान दुर्घटनामा परी चार जनाको मृत्यु

काठमाडौं
१९-कार्तिक/ अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

दुर्घटनामा कम्तीमा ११ जना घाइते भएका छन् भने केही व्यक्ति सम्पर्कविहिन छन्। यूपीएसका अनुसार विमानमा रहेका तीन चालक दलका सदस्यहरूसँग समेत सम्पर्क हुन सकेको छैन। उनीहरूको खोजीकार्य जारी छ।

विमानले झन्डै ३८ हजार ग्यालन इन्धन बोकेको थियो। विस्फोटपछि लागेको आगोले नजिकैका व्यवसायिक भवनहरू समेत डढेका छन्। संघीय विमान प्रशासन (एफएए) का अनुसार फ्लाइट २९७६ स्थानीय समय अनुसार हिजो साँझ ५:१५ बजे दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनास्थल आसपासका बासिन्दालाई घरभित्रै सुरक्षित रहन आग्रह गरिएको छ।