तुलसीपुर
१९ मंसिर/ दाङको नारायणपुरमा सफलतापूर्वक सिनेमा सेवा सञ्चालन गर्दै आएको भिएफएक्स सिनेमा हलले अब तुलसीपुरमा पनि आधुनिक सुविधासहितको हल विस्तार गर्ने भएको छ। तुलसीपुर–६ मा रहेको कराई इभेन्ट नजिकको जग्गामा आज एक कार्यक्रमका बीच भिएफएक्स सिनेमा हल तुलसीपुरको शिलान्यास गरिएको हो।
सिनेमा वर्ल्डका अध्यक्ष अरुण रिजालका अनुसार नारायणपुरमा रहेको हलझैँ तुलसीपुरमा पनि अत्याधुनिक प्रविधियुक्त हल निर्माण गरिनेछ। उनले भिडियो क्वालिटीदेखि साउन्ड सिस्टमसम्म उच्चस्तरको प्रविधि जडान गरिने बताउँदै, दर्शकलाई नयाँ अनुभव दिने गरी हल निर्माण अघि बढिरहेको जानकारी दिए।
निर्माण कम्पनीका अनुसार हलमा दुई ओटा पर्दा रहनेछन् र करिब ५ सय सिट क्षमतामा संचालन गरिनेछ। आगामी २०८३ को दशैं लक्ष्य गर्दै नियमित रूपमा फिल्म प्रदर्शन सुरु गर्ने योजना रहेको छ।
भिएफएक्स सिनेमा प्रा.लि.का सञ्चालक विजय रावतका अनुसार तुलसीपुरमा हल सञ्चालन भएपछि तुलसीपुरदेखि पश्चिम क्षेत्रका दर्शकलाई नजिकमै उत्कृष्ट सिनेमा हेर्ने सुविधा मिल्नेछ। उनले यसले स्थानीय दर्शकलाई मात्र होइन, क्षेत्रीयस्तरमा समेत आधुनिक मनोरञ्जन केन्द्रको रूपमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।



