Welcome To Sitalpur Online

सहमितका आधारमा जग्गा एकिकरणको काम अगाडी बढाउन मुख्यमन्त्रीको निर्देशन

दाङ
४-मंसिर/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकिकरणको कामलाई जग्गाधनीको सहमतीको आधारमा अघि बढाउन निर्देशन दिएका छन् । जग्गा एकिकरण आयोजना संचालन समितको अध्यक्षको शपथ ग्रहण पश्चात भएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको जग्गा एकिकरण आयोजनालाई जग्गा धनिको सहमतीको आधारमा तिब्रता दिन निर्देशन दिएका हुन् ।

‘यो महत्वपूर्ण जिम्मेवारी हो । फिल्डमा सहमती जुटाउने कामलाई तपाईहरुले अघि बढाउनुस् । स्रोत साधन जुटाउने काममा हामि जुट्छौं’ मुख्यमन्त्री आचार्यले भने, ‘नदी सभ्यतामा आधारित राजधानी शहर बनाउने परिकल्पना सरकारको छ । यहि परिकल्पनालाई साकार बनाउने महत्वपूर्ण जिम्मेवारी छ ।’

जग्गा एकिकरण आयोजनाको कामलाई विवाद रहित ठाउँबाट अघि बढाउन र त्यसलाई नमुनाको रुपमा प्रस्तुत गर्न मुख्यमन्त्री आचार्यले बताएका छ् । ‘हामी राजधानी शहर निर्माणको लागि साधन स्रोतको खोजिमा जुटेका छौं, तपाईहरु समुदाय स्तरको काममा लाग्नुस’मुख्यमन्त्री आचार्यले भने, ‘सबैलाई समन्वय र सहकार्य गरेर कामलाइ अघि बढाउन जरुरी छ ।’

जग्गा एकिकरण आयोजना संचालन समितिको अध्यक्ष नियुक्त भएका राप्ती गाउँपालिका–१ निवासी शुसिलकुमार बस्नेतलाई मुख्यमन्त्री आचार्यले शपथ ग्रहण गराएका थिए । कार्तिक १२ गते बसेको पूर्वाधार विकास समितिको २१ औं बैठकले बस्नेतलाई अध्यक्षमा नियुक्त गरेको थियो । राजधानी शहर निर्माणका लागि २० बर्षे योजना निर्माण गरिएको छ । जुन योजना कार्यान्वयन गर्न एक खर्ब बढी बजेट लाग्ने अनुमान छ । पाँच बर्षको लागि २५ अर्ब लगानीको खोजीमा प्रदेश सरकार जुटेको छ । लगानी सुनिश्चित गरेर हरित र सुविधा सम्पन्न शहर निर्माणको योजना बनाइएको छ । जसका लागि प्रदेश सरकारले विदेशी दातृ निकाय संग पहल गरिरहेको हो ।

२०७७ असोज २० गते बसेको प्रदेश सभा बैठकले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय पारित गरेको थियो । राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाको वडा नं. १, २ र ३, शितगंगा नगरपालिकाको वडा नं. ८ र ९ लाई राजधानी क्षेत्र भित्र समेटिएको थियो ।

राजधानी क्षेत्र भित्रको १२ हजार विगाह जग्गा मध्य यस बर्ष एक हजार विगाह जग्गालाई एकिकरण योजना भित्र राखिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए । उनका अनुसार १४ ब्लक निर्माण गरिएको छ । पहिलो चरणमा तीन वटा ब्लकबाट जग्गा एकिकरणको काम अघि बढाउने योजना छ ।