३ मंसिर / अमेरिकी राष्ट्रपतिमा पुन निर्वाचित डोनाल्ड ट्रम्पले गैरकानूनी रूपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई व्यापक रूपमा देश निकाला गर्न राष्ट्रिय संकटकाल घोषणा गर्ने र सेना समेत परिचालन गर्ने योजना पुष्टि गरेका छन्।
सोमबार ट्रम्पले सामाजिक सञ्जालमा ज्यूडिसियल वाचका टम फिटनको पोस्टमा प्रतिक्रिया दिएका थिए, जसले यसअघि यो महिना नवनिर्वाचित प्रशासन यस्तो घोषणा गर्ने र देश निकाला गर्न सैन्य शक्तिको प्रयोग गर्ने तयारी गरिरहेको रिपोर्ट गरेका थिए।
टम फिटनको भनाई सत्य रहेको उल्लेख गर्दै ट्रम्पले सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् । ट्रम्पले यस अगाडि नै कार्यभार सम्हालेको पहिलो दिनमै अमेरिकी इतिहासको सबैभन्दा ठूलो देश निकाला कार्यक्रम सुरु गर्ने वाचा गरेका छन्।
राष्ट्रपतीय चुनावको अन्त्यतिर म्याडिसन स्क्वायर गार्डेनमा भएको र्यालीमा उनले हरेक सिटी र गाउँलाई अपराधीहरूले कब्जा गरेको ठाउँबाट मुक्त गराउने तथा हिंस्रक अपराधीहरूलाई जेल हालेर सकेसम्म चाँडो देश निकाला गर्ने बताएका थिए ।
पहिले नै उनले आप्रवासन नीतिमा कठोर दृष्टिकोण राख्ने व्यक्तिहरूलाई प्रमुख क्याबिनेट पदहरूमा चयन गरिसकेका छन्। साउथ डाकोटाका गभर्नर क्रिस्टी नोएमलाई होमल्याण्ड सेक्युरिटी सेक्रेटरी बनाउने घोषणा गरिएको छ, जुन सिनेटले अनुमोदन गर्नुपर्नेछ। पूर्व अमेरिकी आप्रवासन तथा सीमा संरक्षण निर्देशक टम होम्यानलाई सिमाना प्रमुख बनाइने भएको छ ।