रुकुमपूर्व
३-मंसिर/ यही १६ मंसिरमा हुने स्थानीय तहको उपचुनावमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन हुने भएको छ ।
पालिका उपाध्यक्ष र एक वडाध्यक्षका लागि हुने उपचुनावमा दुवै दलले साझा उम्मेदवार अगाडि सारेका हुन् । यहाँ रोचक त के छ भने दुवै उम्मेदवार एमालेकै हुनेछन् तर, उपाध्यक्ष पदकी उम्मेदवार एमाले रुकुमपूर्वकी जिल्ला उपसचिव केशकुमारी तुलाचनले कांग्रेसको रुख चिह्नबाट चुनाव लड्नेछिन् ।
एमाले रुकुमपूर्वका जिल्ला अध्यक्ष लिलामणि गौतमले दुवै दलबाट साझा उम्मेदवार एमालेबाट उठाइएको बताए । यद्यपि वडा नम्बर २ का वडाध्यक्ष पदको उम्मेदवार बनेका एमालेका जीवन रोकाले भने सूर्य चिह्नबाट चुनाव लड्नेछन् ।
पालिका उपाध्यक्ष र वडाध्यक्ष दुवैमा एमालेकै उम्मेदवार बनाउने गरी कांग्रेस र एमालेबीच गठबन्धन भएकाले दुवै दलबीच अपनत्व होस् भन्ने हेतुले उपाध्यक्षलाई रूख चिह्नबाट चुनाव लड्ने गरी अगाडि सारिएको एमाले जिल्ला अध्यक्ष गौतमले बताए ।
मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालका अनुसार उपाध्यक्ष पदका लागि चार स्वतन्त्रसहित सात जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा एमाले–कांग्रेसका तर्फबाट केशकुमारी तुलाचन, माओवादी केन्द्रबाट नरपुरा बुढा, एकीकृत समाजवादीबाट सुनिता बुढा मगर र स्वतन्त्र उम्मेदवार कोपिला पुन बुढा, मोहनभक्त बुढा, भिमकुमारी पुन र सूर्यदेवी सुनार रहेका छन् ।
यस्तै, वडा नम्बर २ को वडाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा एमालेबाट जीवन रोका, माओवादीबाट जगत घर्ती र स्वतन्त्र उम्मेदवार शुक्रराज विक रहेको निर्वाचन अधिकृतको कार्यालयल जनाएको छ ।
यसलाई सम्पादन गरेर लेख ।