सेवा निबृत हुँदै गर्दा –
.. हिजो १८ वर्षको कलिलो उमेरमा यस प्रहरी संगठनमा प्रवेस गरि आफ्नो उर्बर जवानी, रहरहरु सबै यसै संगठनमा खर्चगरी ३ दशक सम्म सेवारत रहि विताएको पत्तै भएन । म यसै सन्दर्भमा आफ्नो कार्यक्षेत्रमा कर्तव्यपालनको सिलसिलामा ज्यान ज्यान गुमाउनु हुने ती कर्मठ, बहादुर र सहासी साथिहरुलाई सम्झन चाहन्छु बिर शहिद प्रति उच्च सम्मानका साथ हार्दिक श्रदा सुमन ब्यक्त गर्दै घाईते तथा अपाङ्ग साथिहरु प्रति शिघ्रस्वास्थ्यलाभको कामना गर्दछु ।पीडित परिवारजनलाई धैर्य धारण गर्न विनम्र अनुरोध गर्दछु।
जागिर खाने सिलसिलामा प्रहरी सेवालाई रोज्न पुगियो तालिम समाप्ती पश्चात कार्यक्षेत्रमा जानासाथ तत्कालिन नेकपा माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुवाति चरण हुदै १०औ वर्ष सम्म द्वन्दको कहर र ०६२ /०६३ सालमा राजतन्त्र विरुद्धको संयुक्त जन आन्दोलनमा असिन पसिन खटाइ समेत झेल्दै व्यहोर्दै आईयो।
त्यस अवधिमा व्यक्तिगत देखी घर परिवारले व्यहोरेको अकल्पनिय पिडा केवल भोग्ने लाई मात्र थाहा छ ।सांच्ची भन्ने हो भने आजको जिन्दगी एक किसिमले मेरालागि नाफाको जिन्दगी हो भन्नेमा अन्यथा नहोला । अतितको स्मृतिका पत्रहरु जब पल्टाउन मन लाग्छ ,यो मन त्यसै भाबुक र संबेदनसिल हुन्छ।नचाहंदै आँखाका परेली भिज्छ ..
भर्खर बिबाह गरेको समयमा झन्डै ३३/३४ महिना सम्म घरपरिवारबाट बिछोडका समयमा पत्राचारको माध्यमनै पारिवारिक सम्बन्धलाई बिकशित र सुमधुर तुल्याउने भरपर्दो साधन बन्यो ।त्यसबेला आजको जस्तो टेलिफोन, इमेल ईन्टरनेटको सुबिधा थिएन । हुलाकी दाइ र नजीकको हुलाक कार्यालय संगको सम्बन्ध सांच्चै अत्यन्त निकट र मितवत थियो।५,७ पन्नामा मनका गुम्फन साट्दा,आफ्ना कुन्ठा ओकल्न पाउँदा वा त्यहाँ पोखिदै गर्दा आँखा बाट खसेका अब्यक्त बिछोडि पिडाका आंसुका ढिक्काले कापीका पान्ना रुझेको र अक्षर समेत मेटिन पुगेको प्रशस्त उदाहरण छन् । अहिले जस्तो पैसा पठाउने माध्यमको अभावको कारण रजिष्टरी चिठिमा कहिले १०० त कहिले ५०० का पुराना नोट हाली पठाउंदा झन्डै ५,७ पटक पत्र च्यातिएको र पैसा निकालेको अबस्थामा पत्र पुगेका अनुभूतिहरु समेत छन् ।
श्रीमती गर्भवती भएको ४ महिना पछि रुकुम सरुवा भए पश्चात् संबंधित दरबन्दीमा गएको र छोरा जन्मिएको १४ महिना पछी बाउ छोरा र घरपरिवारका सदस्य बिच भेट भएको कुरा तपाईंहरुलाई सुनाउंदा अपत्यारिलो र आश्चर्य लाग्न सक्छ।त्यसैले त भन्दै छुं-ती अतितका दिनहरु कसरी बिताइयो?भोग्नेलाइ मात्र थाहा छ।अतीत तितो,दु:खजिलो र संघर्षपूर्ण रह्रे पनि ती स्मृतिका पाना पल्टाउंदै गर्दा अत्यन्त आनन्द लाग्छ।नेपाल प्रहरीको आमा घरमा सुरक्षीत बास,न्यानो आतिथ्यताको ब्यबस्था र पेटको जोहोको लागि आटो पिठोको बन्दोबस्तीको सहज ब्यबस्थापन हुन सकेकोमा यस गौरबशाली प्रहरी संगठन प्रति हृदयबाट नमन र आभार प्रकट गर्दछु। प्रहरी संगठनको पदेन सदस्य हुने अवसर पाएकोमा गर्व महशुस गर्दछु।
आजको जिन्दगी एक किसिमले मेरालागि नाफाको जिन्दगी हो भन्नेमा अन्यथा नहोला ।
३० औ वर्ष सम्म यस पवित्र संगठममा विताउदै गर्दा थुप्रै अनुभवहरु हासिल भएका छन् । जीवन व्यवहारमा लागु हुने धेरै कुराहरु सिक्न पाएको छु ।नढांटि भन्ने हो भने प्रहरी घर मेरो लागि बिश्वबिद्धालय हो , यस घरमा रहंदानै मैले स्व अध्ययन गर्ने प्रशस्त अवसर र मंच पाएं,जीवन जगतलाई,समाजलाई र आफू लाइ हेर्ने बुझ्ने र नियाल्ने ,मामिलामा फराकिलो बिचार अंगाल्न पुंगे। ठोकुवा साथ भन्न सक्छु -म यस पबित्र संगठनमा रहदा यस माथी आइलागेका अपगाल,अपजस र आलोचनालाई मेरा तर्फबाट जन मैत्री प्रहरीको भूमिका निर्वाह गर्दै चिर्ने कोसिस गरें,पदिय दायित्व निर्वाहमा जिम्मेवार र सचेत रुपमा प्रस्तुत भएं। नेपाल प्रहरीमा राम ब जि सि जस्ता ब्यक्ति ब्यक्तित्वहरु पनि छन् र थिए भन्ने मलाई चिन्ने नागरिक स्तरमा त्यो चारित्रीक र नैतिक शुद्धताको छाप छाड्न पाउनुनै मेरा लागि गर्बको बिषय हो।
इमान,जमान,नैतिक र चारित्रीक शुद्धतालाई शिर माथी राखी तदनुकुल जीवन आचरण ,व्यबहार अवलम्बन गर्नुनै मैले आज सम्म आर्जेको पुंजी हो।
मलाई ३ दशक सम्म यस प्रहरी संगठनमा अबिचलित रुपमा रहिरहन र यो स्थान सम्म ल्याइ पुर्याउन घर परिवारका सदस्य र विशेषत जिबन संगिनिको धैर्यता , संयम र होस्टेमा हैसेको सहयोग रहेकोेले उहाँहरुको योगदानलाई समेत यसै अवसरमा सम्झिन चाहाम्छु।आदर र प्रेमिल भाव प्रकट गर्दछु।
म सोच्छु- अन्य पेशा ब्यबसाय रोजेको भए मैले यो अवसर किमार्थ पाउदैनथे।जुन घरमा आश्रय लिंदा,मैले चैत बैशाखको चर्को धुपमा शितल छहारी र पुस माघको ठिहीमा न्यानो आतिथ्यता पाएको छु। यसर्थ पनि नेपाल प्रहरीको आमा घर मेरो लागि मेरो पहिचान दिलाउने,चिनाउने र गर्व महशुस गर्ने मातृत्व र स्नेहको घर हो।अबश्य पनि यस घरमा आबद्द रहेका केही सदस्यबाट बेला बेला आफ्नो पदिय मर्यादा,गरिमा र कर्तव्यबाट बिमुख हुने क्रियाकलापले गर्दा संगठनको बृहत उद्देश्यमा आंच आउंने,प्रश्न चिन्ह खडा हुने गर्दा म दुख्छु र घाइते हुन्छु। मेरा अनुभव र योग्यतालाई अव सेवा निवृत्त पछि नागरिक जीवनमा प्रयोग गर्नुछ । एक सचेत नागरीकको तर्फबाट परिवार तथा समाज लाई योगदान दिनुछ, हिजो जागिरे जागिरे भन्दा भन्दै समय खर्चन नसकोमा घर परिवार आफ्न्तीका धांजा परेका मन, चित्त दुखाएका, गुनासा प्रकट गरेका, टुटेफुटेका मनहरु जोड्नुछ, सिउनु छ ,समाज संग घुलमिल हुनुछ।
सेवानिबृत्त हुदै गर्दा प्रहरी संगठन प्रतिको माया सदभाव सहयोग र भाईचारा व्यवहारमा कुनै कन्जुस्याई हुने गर्ने छैन । आफुलाई थाहा पाएका विषय वस्तु प्रति बाहिर रहेर पनि अपराध अनुसन्धान शान्ती सुरक्षाका सवालमा सहयोगी बन्न कुनै कसर बाकी राख्ने छैन भन्नेमा प्रतिवद्वता जाहेर गर्न चाहन्छु ।
संगठनमा रहदा बस्दा सिनियर अधिकृत र जु.प्र.अ. तथा जवान साथिहरु प्रति अन्जानमा अनादर तथा चित्त दुखाउने व्यवहार भए गरेको भएमा हजुरको भाई छोरा सम्झी भुलचुक गरिदिनुहुने छ र यदि अशल र सकारात्मक गुण विशेषता पाउनु भएमा सम्झिदिनु हुने छ भन्ने आशा राख्दै यस पबित्र प्रहरी संगठनबाट आजैका मिति देखि विश्राम लिएको कुरा जानकारी गराउदै बिदा हुन चाहन्छु ।
मैले फेरि पनि दोहोर्याएं –
नेपाल प्रहरी संगठन मेरो आमा घर हो।आमा जस्तोसुकै होस् तर त्यस ममतामयी आमा माथी सार्वजनिक मानमर्दन,निन्दा र उसलाई होच्याउंदा मलाई दुख्छ र म जरुर घाइते हुन्छु।
स्वाभिमान ,निजत्व र स्वत्वलाइ यतिन्जेल बन्धकमा राखिएको थियो, फौजी अनुशासनको सिमा र मर्यादा भित्र बस्नु शक्त जरुरीनै थियो।।आजदेखी सबै चुक्ता गरि स्वतन्त्र नागरिकको हिसाबले अपनत्व,निजत्व र स्वत्वको जिन्दगी जिउन पाएकोमा अत्यन्त हर्षित र गदगद छु।
अन्तमा: पुनः मलाई जुन बिदाई तथा सम्मान प्रकट गर्न लुम्बिनी प्रदेश कार्यालय र प्रदेश प्रहरी प्रमुख प्र.ना. म.नि श्रद्द्य .कुबेर कडायत ज्यूले जुन चांजोपांजो र ब्यबस्था मिलाउनु भयो,यसको लागि म हृदयबाट आभार प्रकट गर्दछु।धन्यवाद । जयनेपाल र अभिभादन।