Welcome To Sitalpur Online

पोखरेलको श्रद्धाञ्जली सभा, निष्ठाको राजनीतिले मात्र समाजमा योगदान दिन सक्छ

घोराही
५ मंसिर/ नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा मंगलबार श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा (एमाले) दाङको आयोजनमा पोखरेल निवास घोराहीमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले देवी पोखरेलको सरलता, इमान्दारी र निष्ठाको प्रशंसा गरेका छन ।

आफ्नो लागि त सबैले गर्छन्, तर जसले बाँचुन्जेल देश र जनताको लागि काम गर्छ, उही व्यक्ति सधैं स्मरणीय हुन्छ,’ उहाँले भन्नुभयो ।
ज्ञवालीले पोखरेललाई सैद्धान्तिक र वैचारिक दृष्टिले अत्यन्त गहिरो व्यक्ति भएको उल्लेख गर्दै उनको जीवन राजनीतिमा आदर्श व्यक्तित्वको नमुना भएको बताए ।

उह
उनले पोखरेलले कहिल्यै पनि अरूको व्यक्तिगत विषयमा टिप्पणी नगर्ने, जालझेल नगर्ने र सधैं सत्यको मार्गमा हिँड्ने गुणको सराहना गरे । ‘कम्युनिष्टको हृदय फराकिलो हुनुपर्छ भन्ने कुरा उहाँले आफ्नो जीवनभरि व्यवहारमा उतार्नुभयो,’ ज्ञवालीले भने ।
कार्यक्रममा पोखरेलका सहोदर भाइ एवम् एमाले महासचिव शंकर पोखरेलले आफ्नो मन्तव्यमा परिवारका लागि पोखरेलको त्याग र योगदानको स्मरण गरे ।

उनले दाजुबाट आफूले अध्ययनमा प्रेरणा पाएको र उहाँले साक्षरता अभियानको सुरुवात गरेर समाजमा ज्ञान र चेतनाको बीजारोपण गरेको स्मरण गरे । पारिवारिक जिम्मेवारी पूरा गर्न निर्माण व्यवसायमा लागे पनि जहाँ गए पनि उहाँले राजनीतिक र सामाजिक गतिविधिमा सक्रियता देखाउनुभएको भन्दै महासचिव पोखरेलले उहाँको आदर्श र योगदानलाई पछ्याउनुपर्ने आवश्यकता औंल्याए ।

श्रद्धाञ्जली सभामाएमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य शोभाराम बस्नेत, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्य, र राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले पनि आफ्नो मन्तव्य व्यक्त गरे ।

वक्ताहरूले देवी पोखरेलको निष्ठा, साहस, र नेतृत्व क्षमताको प्रशंसा गर्दै उहाँबाट प्रेरणा लिनुपर्ने बताए । उनिहरुले पोखरेलको योगदानलाई बहुआयामिक रूपमा स्मरण गरे । पोखरेलको व्यक्तित्वबारे केन्द्रीय सदस्य एवम् बहिनी मेनका पोखरेलले उहाँको संघर्षशील जीवनका केही प्रसङ्गहरू उजागर गरे । उनले पोखरेललाई सच्चा निष्ठाको राजनीतिज्ञ मात्र नभई समाजसेवी र शिक्षाको अभियन्ताका रूपमा चित्रण गरिन। एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको सञ्चालन सचिव श्याम डाँगीले गरेका थिए ।

श्रद्धाञ्जली सभामा कविता वाचन गरेर हाडिमे निवासी भीमप्रसाद न्यौपानेले पोखरेलको व्यक्तित्व र योगदानलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका थिए।देवी पोखरेलको जीवन र योगदान बहुआयामिक थियो । उनको जन्म २००७ साल मंसिर ७ गते साविक विजौरी गाविस वडा नं ६ हाडिमेमा भएको थियो, जो हाल तुलसीपु उपमहानगरपालिका–१९ मा पर्छ ।

उनले नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समूह)को सदस्य भएर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनले झापा आन्दोलनमा वैचारिक समर्थन जनाउनुका साथै भूमिगत अवस्थामा रहँदा पनि पार्टीप्रति आफ्नो निष्ठा कायम राखे । उनले सन्देश पत्रिका सम्पादन गर्दै वैचारिक र साहित्यिक चेतनाको प्रवर्धन गरेका थिए ।

शिक्षा र सामाजिक सेवामा उहाँको योगदान पनि उल्लेखनीय छ । दीपशिखा उच्च माध्यमिक विद्यालयको संस्थापक सदस्यका रूपमा शिक्षाको पहुँच विस्तार गर्न उनले खेलेको भूमिका महत्त्वपूर्ण छ । साथै, गरिब र विपन्न वर्गका लागि निःशुल्क औषधि वितरण गरेर र बिरामीहरूको उपचारमा सहयोग पु¥याएर उहाँले समाजसेवाको उत्कृष्ट उदाहरण दिएका थिए ।

आन्दोलन र संघर्षका क्रममा उनले धेरै यातना भोग्नुभयो तर कहिल्यै आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुनु भएन । उनले भूमिगत अवस्थामा रहँदा आफ्ना भाइबहिनीको शिक्षा र राजनीतिक व्यक्तित्व निर्माणमा सहयोग पु¥याएका थिए । साथै, उहाँको नेतृत्वमा पार्टीको संगठन विस्तार र जनपक्षीय आन्दोलनलाई सशक्त बनाउन भूमिका खेलेका थिए ।

कार्यक्रममा सहभागी नेताहरूले पोखरेलले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन गरेको योगदानको चर्चा गर्दै उहाँको निष्ठा, सरलता, र समाजप्रतिको प्रतिबद्धताले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन। श्रद्धाञ्जली सभामा उनको स्मरण गर्दै उपस्थित सबैले निष्ठा र इमान्दारीको राजनीति मात्र समाजलाई समृद्ध बनाउने सहमति व्यक्त गरे ।