Welcome To Sitalpur Online

‘बलात्कार’का घटना दैनिक बढ्दो, दाङमा करिब एक महिनामा ७ जना बलात्कृत

जयन्ती चौधरी, तुलसीपुर
२३-साउन/ पछिल्लो समय देशभर बलात्कारका घटनाहरु दैनिक जसो घटिरहेका छन् । ‘बलात्कार’ शब्द आफैमा एक भयानक र डर लाग्दो शब्द हो । कुनै पनि महिला वा पुरुषहरुमध्य एकको सहमति विना जबरजस्ती गरिने यौन सम्पर्क वा डर देखाएर, धम्काएर वा बन्धक बनाएर जबरजस्ती अनुमति लिइ गरिने अवैध सम्बन्धलाई बलात्कार भनिन्छ । नेपालको कानुनमा १८ वर्ष भन्दा कम उमेरका कुनै पनि बालिकालाई ललाईफकाई वा उनीहरुको मञ्जुरी विना गरिने यौन सम्बन्धलाई पनि बलात्कारकै संज्ञा दिएको छ । विश्व इतिहासलाई हेर्ने हो वा पढ्ने हो भने ‘बलात्कार’ का घटनाहरु परापूर्वकाल देखिनै हुने गरेको पाइन्छ ।

विशेषत: राजा-महाराजाहरु, सैन्य शासन गर्नेहरु वा समाजका पुंजीपति, ठुलाबडा र टाठाबाठाले आफ्नो कामदार तथा समाजका गरीब छोरीचेलीलाई जबरजस्ती गर्ने गरेको पाइन्छ । इतिहास नियाल्दा पुरुषको तुलनामा धेरै प्रतिशत महिलामाथि घरेलु हिंसा र यौनजन्य अपराध हुने गरेको पाइन्छ । अहिले जबरजस्ती गरिने यौन सम्पर्कलाई मात्र नभएर भ्रष्टाचारी, व्यभिचारी, राष्ट्रद्रोही, कुलद्रोहीहरुलाई पनि बलात्कारीकै संज्ञा दिएको पाइन्छ । यसरी सरसरती हेर्ने हो भने शारीरिक, मानसिक वा अरुको कुभलो हुने कुनै पनि खालको क्रियाकलाप गर्नेलाई बलात्कारी भन्न सकिन्छ ।

यद्यपी नेपाली समाजमा यौन दुराचार बलात्कार) को अवस्था यति भयानक भएको छ कि समाजको लागि ठूलो चुनौतीको रुपमा देखा परेको छ । स-साना बालिकादेखि वृद्धा महिलाहरु, सुत्केरी समेत बलात्कारका सिकार भएका घटनाहरु बाहिर आएका छन् । अझै पछिल्लो समय त बलात्कारका यस्ता घटनाहरु बाहिर आएका छन् कि, बलात्कारी पुरुष कुनै पराय नभएर आफ्नै बुवा, दाईभाई, छिमेकी, नातापाता वा एकै परिवारका सदस्यहरु समेत रहने गरेका छन् ।

पछिल्लो अवस्थामा देशैभर दैनिक करिब ६७ जना महिलाहरु बलात्कारको शिकार भएको देखिन्छ, भने त्यसमध्ये केही महिलाको हत्या समेत हुने गरेको छ । यो आंकडा घटना दर्ता भएको मात्र हो भने अझ करिब ७० देखि ८० प्रतिशत घटनाहरु विभिन्न सामाजिक परिस्थिति र बहिस्कारका डरले वा घर भित्रैको छ भने इज्जत जाने डरले पनि घटना सार्वजनिक नगरेर गुपचुपमै राख्ने गरिएको छ । त्यसमध्ये केही घटना सार्वजनिक भए पनि त्यसलाई समाजभित्रै बसेर मिलाउने गरेका समाचारहरु समेत सुन्न पाइन्छ । कानुन मान्य हो भने पनि त्यस प्रकारको मिलेमतो गर्ने गराउने दुवैलाई अपराधी सरह मान्य गरेको छ, तर यहाँ त्यस्तो हुँदैन । दैनिकजसो बलात्कार गर्ने र हत्या गर्ने प्रवृत्ति हावी हुँदा नेपालमा छोरी बचाउने नयाँ अभियान सञ्चालन गर्नुपर्ने चुनौति देखिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि २० गतेसम्म दाङ जिल्लामा मात्रै ७ वटा बलात्कारको घटना भएको तथ्यांकमा उल्लेख छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा साउन १ गतेदेखि २० गतेसम्म २८ वटा बलात्कारका घटना भएको छ ।

जसमध्य सबै भन्दा बढी दाङ जिल्लामा ७ वटा बलात्कारका घटना भएको छ । त्यस्तै रुपन्देहीमा ६, बाँकेमा ५, कपिलवस्तु, पाल्पा, रुकुमपूर्व र अर्घाखाँचीमा २र२ र नवलपरासी पश्चिम र प्यूठानमा एक एक वटा बलात्कारका घटना घटेको छ । भने रुपन्देहीमा एउटा बैवाहिक करणी भएको छ । त्यस्तै बर्दिया, रोल्पा र गुल्मी जिल्लामा भने यस आवको हालसम्म त्यस्तो घटना नघटेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख ।

त्यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशमा ३५० वटा बलात्कारका घटना भएको डिएसपी सापकोटाले जानकारी दिए । जसमध्य सबैभन्दा बढी दाङ जिल्लामा ८४ वटा घटना घटेको छ भने सबै भन्दा कम अर्घाखाँचीमा ६ वटा घटना घटेको छ ।

त्यस्तै लुम्बिनीमा बलात्कार, बैवाहिक करणी, अपहरण तथा जबरजस्तीकरणी, मा.वे.वि. तथा जबरजस्तीकरणी र जबरजस्तीकरणी तथा कर्तव्यका घटना गरी ३६९ वटा घटना घटेको डिएसपी सापकोटाले जानकारी दिए । जसमध्यमा सबैभन्दा बढी बलात्कारका घटना दाङ जिल्लामा भएका छन् ।
दाङमा ८७, रुपन्देहीमा ७०, बाँकेमा ४३, बर्दियामा ३६, कपिलवस्तुमा ३५, नवलपरासी पश्चिममा २६, रोल्पामा २०, पाल्पामा १६, प्यूठानमा १२, रुकुमपश्चिममा ११, गुल्मीमा ७ र अर्घाखाँचीमा ६ वटा बलात्कारका घटनाहरु घटेका छन् ।

यद्यपी पछिल्लो समय बलात्कारका घटनाहरु बढ्नुमा एउटा महत्वपूर्ण कारण भनेको खुला र छाडा संस्कृति नै हो । हामीले लगाउने पहिरन, हामीले बोलिने भाषा, मनोरञ्जनको नाममा टेलिभिजन तथा अन्य सामाजिक संजालका माध्यमबाट प्रशारित विभिन्न यौनजन्य सामाग्रीहरु जसले छाडा संस्कृतिलाई प्रश्रयका लागि बढावा दिनुका साथै त्यसलाई मलजल गर्ने हाम्रो शिक्षा नीतिलाई पनि मान्न सकिन्छ । यो संगसंगै अन्य कारणहरुमा महिलालाई खेलौना र मनोरञ्जन वा यौन प्यास मेटने साधनको रुपमा मात्र हेर्ने केही गलत प्रवृत्तिहरु, विद्यालय तहमै केटाकेटीहरु एक अर्कोको विशेष साथी (गर्लफ्रेन्ड, बोइफ्रेन्ड)को रुपमा रहने र विवाह नगरी एक अर्कोसंगै बस्ने संस्कृतिको विकासका कारण पनि बलात्कारका घटनाहरु बढ्दै गएको देखिन्छ ।

त्यस्तै पछिल्लो समय पुरुषहरु वैदेशिक रोजगारीका लागि बाहिर जाने र घरमा महिला मात्र बस्ने गर्दा मौका छोपेर फाइदा उठाइ विभिन्न बहाना गरी बलात्कार गर्ने गरेको पनि घटनाहरु सुन्न पाइन्छ । त्यस्तै पछिल्लो समय बलात्कार गरेर हत्या गर्ने घटनाहरु समाजको लागि ठूलो चुनौती पनि बनेको छ । त्यसमा पनि युवा अवस्थाका भन्दा बालिकाहरु त्यसको बढी शिकार हुने गरेका छन् । विभिन्न बहानामा बालिकाहरुलाई ललाई फकाई एकान्त पारेर बलात्कार गर्ने र त्यसको पोल खोलिने डरले हत्या गरेर फरार हुने घटनाहरु धेरै सुन्ने गरिन्छ । जसले समाजमा छोरीप्रतिको धारणा र उनीहरुको बारेमा एउटा ठुलो डर पैदा समेत गरिदिएको छ ।

बलात्कार गरी फरार हुने धेरै घटनाहरुको अभियुक्त पत्ता लगाउन नसक्नु, सकेसम्म त्यस्ता घटनाहरुलाई समाजमै मिलाउने प्रयास गर्नु, पीडितलाई डर धम्की र पैसाको प्रलोभन देखाई घटनालाई लुकाउन दवाव दिने पक्षहरु समाजमा धेरै सक्रिय देखिदा पनि बलात्कारीलाई थप हौसला प्रदान गरेको छ । देशको कानून फित्लो हुँदा पीडितले न्याय पाउन सकेका छैनन् ।

अन्त्यमा, घरेलु हिंसा र यौन हिंसा मानव समुदायको लागि नै सुहाउने व्यवहार होइन, यसबाट टाढा रहनको लागि हामीले हाम्रो परम्परागत संस्कृति, मौलिकता, आफन्तसंगको व्यवहार र त्यसको विशेषताका बारेमा घरैदेखि विद्यालय तहसम्म अध्ययनको वातावरण गराउने, यौन शिक्षाका बारेमा खुलेर बोल्न सक्ने वातावरण तयार गर्ने, परिवार र आफन्तहरुले युवा पुस्तामा यस्ता खालका शिक्षा प्रदान गर्न सके यसबाट केही हदसम्म बलात्कारका घटनाहरुमा कमी आउने थियो कि ?

त्यस्तै न्यायपालिकामा महिलाका लागि महिला कर्मचारी, प्रहरी प्रशासनमा पनि महिलाको लागि महिला नै खटिनुपर्ने र दोषी सावित भएमा कडा भन्दा कडा सजाय दिने व्यवस्था गरी कुनै पनि धरौटी वा तारेखमा छोडिने वातावरण नबनाउने र १८ वर्ष मुनिका बालिका, वृद्धा महिला, सुत्केरी, हाडनाताकरणी आदि विशेष प्रकारका महिलाहरुलाई कसैले बलात्कारको प्रयास गरेमा जन्मकैद र बलात्कारको प्रमाणीत भएमा मृत्यू दण्डसम्म दिनुपर्ने कानुनको प्रावधान राखेमा केहीहदसम्म बलात्कारका घटनालाई रोक्न सकिने थियो । अन्यथा यसले अझै ठूलो विकराल अवस्था सिर्जना गर्ने देखिएको छ । त्यसैले हामी सबै नागरिक यसप्रति सचेत बनौ छोरी हाम्रो गहना हो उनलाई सभ्यता सिकाउँ, बलात्कार हुनबाट बचाउँ ।