बाँके
१६-साउन/ डिभिजन वन कार्यालय बाँकेले आर्थिक वर्ष २०८१-८२ मा जिल्लाभरबाट विभिन्न प्रजातिका १३८ वटा वन्यजन्तुको उद्धार गरेको छ।
वरिष्ठ वन अधिकृत बाबुराम पोख्रेलका अनुसार घाइते, टुहुरा, बाटो बिराई मानव बस्तीमा प्रवेश गरेका तथा संकटमा परेका वन्यजन्तुको उद्धार गरिएको हो। उद्धार गरिएका जनावरमध्ये सबैभन्दा बढी सर्प रहेका छन्।
विभागका तथ्याङ्कअनुसार १०७ वटा सर्पमध्ये ४५ वटा गोमन, २४ वटा करेत, १७ वटा रसेल भाइपर, १५ वटा धामन, ४ वटा पाठी सर्प र २ वटा फरेस्टन क्याट स्नेक रहेका छन्। यसबाहेक १५ अजिङ्गर, ३ सुन गोहोरो, ३ मगर गोही, १ चितुवा, २ चित्तल, १ रतुवा, १ जरायो र ५ रातो बाँदरको उद्धार गरिएको छ।
उद्धार गरिएका जनावरलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनःस्थापना गरिएको छ। घाइते जनावरलाई डिभिजन वन कार्यालयमा उपचार गरी पूर्ण निको भएपछि मात्र जंगलमा छाडिएको पोख्रेलले बताए।
उनका अनुसार जङ्गलमा आहाराको कमी, मानिसको बढी चलहपहल र बाटो बिराएर बस्तीमा प्रवेश गर्नुजस्ता कारणले वन्यजन्तु अलपत्र पर्ने गरेका छन्।
गत आर्थिक वर्ष २०८०-८१ मा ९९, २०७९-८० मा ४२, २०७८-७९ मा ३१, २०७७-७८ मा ३४ र २०७६-७७ मा १७ वन्यजन्तुको उद्धार भएको थियो।
