काठमाडौं
८-भदौ/ संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलसमक्ष आत्मसमर्पण गरेका छन् । सन् २०२० को निर्वाचन परिणाम अस्वीकार गरी उल्टाउने प्रयास अभियोगको मुद्दामा उनले आत्मसमर्पण गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले आरोपहरू अस्वीकार गरेका छन् । आफूमाथिका आरोपहरू राजनीतिक प्रेरित रहेको दाबी उनले गरेका छन् ।
आत्मसमर्पण गरेका ट्रम्पको औँठाछाप र अनुहारको तस्वीर लिइएको छ । साथै, उनको जमानत २ लाख डलर तोकिएको छ । उनका पूर्ववकिल रुडी जिउलियानी र अन्य सहप्रतिवादीहरूले पनि सोही मुद्दामा आत्मसमर्पण गरेका छन् ।
उनीहरुले बुधबार आत्मसमर्पण गरेका थिए । त्यसको भोलिपल्ट ट्रम्पले आत्मसमर्पण गरेका हुन् । सन २०२४ को निर्वाचनमा भाग लिने तयारीमा रहेका ट्रम्पमाथिको यो चौथो आपराधिक मुद्दा हो ।