काठमाडौं
३-मंसिर/ यही मंसिर १६ गते हुने पालिका उपनिर्वाचनका लागि आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यतालिका रहेको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिनेछ।
भोलि, मंसिर ४ गते, बेलुकी ५ बजेसम्म मनोनयनपत्र र उजुरीहरूको जाँचबुझ तथा निर्णय गरिनेछ। सोही दिन बेलुकी ६ बजेसम्म उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
मंसिर ५ गते उम्मेदवारहरूको नाम फिर्ता लिने समयसीमा तोकिएको छ। त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ र दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
उम्मेदवारहरूको अवस्था
देशभर उपचुनाव हुन लागेका ४४ पदका लागि ४१० जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारहरूमध्ये ६६ जना महिला, ३४२ पुरुष, र अन्य दुई जना रहेका छन्। कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदमा दुई जना महिलाको उम्मेदवारी परेको छ भने ओखलढुंगाको जिल्ला समन्वय समितिको प्रमुख पदमा कांग्रेसका टेकराज भट्टराईको एकल उम्मेदवारी रहेको छ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर गरी ८ पदका लागि ३५ महिला र ४८ पुरुषसहित ८४ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, गाउँपालिका र नगरपालिकाका वडाध्यक्षका लागि ३४ पदमा २९ जना महिला, २९३ पुरुष, र एक अन्य गरी ३२३ जनाको उम्मेदवारी परेको छ।
प्रमुख प्रतिस्पर्धा
सबैभन्दा धेरै उम्मेदवारी धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा परेको छ, जहाँ २१ जनाले प्रतिस्पर्धा गरिरहेका छन्। सबैभन्दा कम उम्मेदवारी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ र बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा परेको छ, जहाँ ३र३ जनाको मात्र उम्मेदवारी दर्ता भएको छ।
यो निर्वाचनले रिक्त रहेका पदहरूमा जनप्रतिनिधिहरू चयन गर्दै प्रशासनलाई थप सबल बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।