Welcome To Sitalpur Online

सार्वजनिक पदधारण गरेका व्यक्तिले सूचना नदिएमा कारवाही हुन्छ : प्रमुख गुरुङ

तुलसीपुर
२८-कार्तिक/ राष्ट्रिय सूचना आयोगका प्रमुख महेन्द्रमान गुरुङले सार्वजनिक पदधारण गर्ने व्यक्तिले सूचना नदिएमा कारवाही गरिने चेतावनी दिएका छन्। बधबार तुलसीपुर उपमहानगरपालिकामा राष्ट्रिय सूचना आयोगद्धारा आयोजित ‘‘सूचनाको हक सम्बन्धी अन्तरक्रिया’’ कार्यक्रममा बोल्दै, सार्वजनिक निकायहरूले सूचनाको हकको पालना नगरेको भन्दै हालसम्म बैंकका सीईओदेखि रजिष्ट्रारसम्मका ४५ जनालाई जरिवानासहित कारवाही गरिएको बताए।

गुरुङले सरकारी तथा गैरसरकारी संघसंस्थालाई अनिवार्य रूपमा सूचना अधिकारी तोक्न, प्रत्येक तीन महिनामा प्रगति विवरण सार्वजनिक गर्न, र नागरिकले मागेको सूचना उपलब्ध गराउन आदेश दिइसकेको उल्लेख गरे। उनले जिम्मेवारीपूर्वक सूचनाको हकको पालना गरेमा कारवाही भोग्न नपर्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरे।

त्यस्तै, कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुरले सूचना प्रवाहमा कुनै कन्जुसाइ नगरेको र त्रैमासिक प्रगति विवरण नियमित सार्वजनिक गर्दै आएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सार्वजनिक पदधारकले गल्ती नगरेको भए सूचना दिन डराउनु नपर्ने बताए।

अन्तरक्रियामा पत्रकार तथा सामाजिक अभियन्ताले कतिपय निकायले सूचना अधिकारी नतोकेको, सूचना दिन आनाकानी गरेको लगायतका गुनासो राखे। सूचना आयोगका उप-सचिव युवराज अधिकारीले सूचनाको हक सम्बन्धी जानकारी दिए भने कार्यक्रमको सहजीकरण दिनेश भट्टराईले गरेका थिए ।