Welcome To Sitalpur Online

उपचुनावका कारण ‘घुम्न जाउँ बर्दिया’ अभियानको मिति सर्यो

दाङ
२७-कार्तिक/ बर्दिया जिल्लाको पर्यटन प्रवर्धनका लागि लुम्बिनी प्रदेश सरकारले आयोजना गर्न थालेको ‘घुम्न जाउँ बर्दिया’ अभियानको मिति सारिएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कात्तिक २९ मा बर्दियामा यो कार्यक्रमको शुभारम्भ गर्ने गरि तयारी थालेको थियो । तर बर्दियामा पनि स्थानीय तह उपनिर्वाचन हुने भएकाले यो मितिमा कार्यक्रम आयोजना गर्न नसकिएको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले जानकारी दिए ।

बर्दियाको ठाकुरबाबा वडा नम्बर ४ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुने भएको छ । उपचुनाव मंसिर १६ गते तोकिएको छ । आगामी २९ गते हुने भनिएको अभियान उद्घाटन अब आगामी मंसिर २१ मा गरिने भएको छ ।

सोमबार बर्दियाका स्थानीय तह, सरोकार वाला पक्ष र लुम्बिनी प्रदेश पर्यटन परिषद विच अभियान उद्घाटन कार्यक्रम बारे छलफल गरिएको थियो । छलफलमा उपनिर्वाचनका कारण कार्यक्रम आयोजना गर्न समस्या हुने देखिएकाले कार्यक्रमको मिति उपचुनाव पश्चात गरिनु पर्ने सुझाव आएको थियो । सोही सुझावका आधारमा आगामी मंसिर २१ गते कार्यक्रम आयोजना गर्ने निर्णय भएको पर्यटन परिषदका कार्यकारी निर्देशक रामु जोशीले जानकारी दिए ।

प्रदेशको पर्यटन प्रवर्धन गर्ने लक्ष्य सहित प्रदेश सरकारले यो बर्ष ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको हो । बर्दियाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेर बाह्य पर्यटकहरुलाई बर्दिया जिल्लामा जाने वातावरण निर्माण गर्ने गरि मन्त्रालयले बर्षभरी प्रचारात्मक कार्यक्रम गर्ने छ । बर्दियाको प्रमख आकर्षण त्यहाँ रहेका बाघको दृश्यावलोक हो । बर्दिया राष्ट्रिय निकुञ्ज बाघ हेर्नका लागि परिचित थलो हो । यसैगरी डल्फीन, कृष्णसार लगाएतको अवलोकन बर्दियाका थप आकर्षण हुन् ।