Welcome To Sitalpur Online

नेपालको आर्थिक वृद्धिदर सुधार हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं
१६-असोज/ विश्व बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ। हालसालै आएको बाढीपहिरोको कारण ठूलो धनजनको क्षति भए तापनि नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनले कृषि, पर्यटन, तथा विद्युत उत्पादनमा देखिएको सुधारलाई आधार मानेर यो प्रक्षेपण गरेको हो। आगामी आर्थिक वर्षमा भने वृद्धिदर ५.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

सरकारले यस वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ, भने एसियाली विकास बैंक (एडिबी)ले ४.९ प्रतिशतको वृद्धिदरको प्रक्षेपण गरेको थियो। मूल्य वृद्धिदर ५ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ, जुन सरकारको ५.५ प्रतिशतको लक्ष्यभन्दा कम हो।

विशेषगरी धान उत्पादनमा ४.३ प्रतिशतको वृद्धि, पर्यटन आगमनमा ३० प्रतिशतको वृद्धि, र ४५० मेगावाट विद्युत् थपिने कारणले आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्ने अनुमान छ। तर, हालसालैको बाढीपहिरोले धानबालीमा ठूलो क्षति पुर्याएको छ, जसको कारण कृषि क्षेत्रमा मात्र करिब ६ अर्ब रुपैयाँको क्षति हुने प्रारम्भिक अनुमान गरिएको छ।

त्यस्तै, जलविद्युत् र सिँचाइ क्षेत्रमा साढे ४ अर्ब रुपैयाँको र सडक तथा पुल क्षेत्रमा साढे २ अर्बभन्दा बढी क्षति भएको छ। यसले उत्पादन र आवतजावतमा समेत प्रभाव पारेको छ।

वित्तीय प्रणालीको कमजोरी, राजनीतिक अस्थिरता, र पुँजीगत खर्च कार्यान्वयनमा देखिएको समस्या आर्थिक वृद्धिका लागि जोखिमका रूपमा देखाइएको छ।

आयात घट्नु र रेमिटेन्स प्रवाह बढ्नुले चालु खाता मौज्दातलाई बलियो बनाएको प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकका श्रीलंका, नेपाल, र माल्दिभ्सका निर्देशक डेविड सिस्लेनले विकासको गतिलाई प्राथमिकता दिनु नेपालको प्रमुख आवश्यकता भएको बताएका छन्।