दाङको दंगीशरण ७ मा गत आर्थिक वर्षमा ६ लाख बजेट फ्रिज

तुलसीपुर, १३ श्रावन ।  दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ७ मा गत आर्थिक वर्षमा झन्डै ६ लाख बजेट फ्रिज भएको पाइएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्ष २०७९/०८० मा झन्डै ५० वटा शिर्षकमा ६५ लाख बजेट विनियोजन भएकोमा ५९ लाख मात्रै खर्च भएको र अरु ६ लाख रुपैयाँ फ्रिज गएको दंगीशरण ७ का वडा सचिव दिपक केसीले जानकारी दिनुभएको छ । उहाका अनुसार योजना तर्फ २५ वटा शिर्षक, सामाजिक विकास तर्फ २० वटा शिर्षक र कार्यालय सञ्चालनमा ५ वटा शिर्षकमा बजेट विनियोजन गरिएको थियो । एउटा योजनाको काम र ४ वटा सामाजिक विकास तर्फको कार्यक्रम हुन नसक्दा ६ लाख बजेट फ्रिज गएको उहाको भनाई छ । यस्तै वडा कार्यालयबाट गत वर्षको बजेट मार्फत ७ वटा भवन मर्मत तथा निर्माण गरिएको छ भने ३ वटा नया सडक निर्माण गरिएको छ ।

साथै पक्की कुलो निर्माण तथा डिप बोरीङ मर्मत र ग्राभेल योजना ६/६ वटा, ह्युम पाइप विस्तार र बाँध तथा कटान रोकथाम १/१ वटा निर्माण गरिएको वडा सचिव केसीले बताउनुभएको छ । यता दंगीशरण ७ का वडाअध्यक्ष रेशम बहादुर वलीले कोइराल डाँडा भन्ने स्थानमा एउटा इनारको काममा बजेट अपुग हुने भन्दै कसैले पनी काम गर्न नचाहेर बजेट फ्रिज जाने अवस्था आएको र बाँकामा डिप बोरीङ निर्माणको काम पनी विविध कारणबस हुन नसकेको बताउनुभयो । यस्तै अन्य कार्यक्रमहरु गर्नका लागी पालिकाका सम्बन्धित शाखालाई सिफारिस गरिएको भएपनी आफ्नो वडामा काम नभएको भन्दै यस विषयका पालिका सँग बुझेर मात्रै भन्न सक्ने अवस्थामा रहेको बताउनुभयो ।